बुटवल-नारायणगढ सडक : १ अर्ब भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायी आन्दोलनमा

NAWALPUR TIMES
प्रकाशित : २०८१ कार्तिक १४ गते ७:४८
बुटवल-नारायणगढ सडक : १ अर्ब भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायी आन्दोलनमा

कावासोती ।  बेला बुटवल-नारायणगढ सडकमा १ अर्ब भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायी आन्दोलनमा उत्रेका छन् ।

यो सडक खण्डमा उपलब्ध गराइएको निर्माण सामग्रीसहित विभिन्न कामको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीहरू आन्दोलित हुँदै १५ दिनभित्र समाधान नभए कार्यालयमै तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले सडक विस्तार गरिरहेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले भुक्तानी नदिएको भन्दै मंगलबार दाउन्ने पश्चिम खण्डको परासीस्थित रानीपाकडमा रहेको कम्पनीको कार्यालयमा प्लेकार्डसहित प्रदर्शन गरे ।

६ महिनादेखि भुक्तानी नदिँदा मजदुरहरूको ज्याला दिन नसकिएको र व्यवसायीहरूको सम्पत्ति नै बैंकले लिलाम प्रकृयामा लैजान थालेकाले तत्काल भुक्तानी दिन व्यवसायीहरूले माग गरेका छन् । भुक्तानीका लागि पटक पटक काठमाण्डौंस्थित कम्पनीको कार्यकालमा जाँदासमेत वास्ता नगरेको व्यवसायीको दाबी छ ।

निर्माण व्यवसायी एवम् क्रसर व्यवसायी महासंघका उपाध्यक्ष रामु अधिकारीले निर्माण सामग्रीसहित विभिन्न कामको कुल १ अर्बभन्दा बढी रकम चाइना कम्पनीले भुक्तानी दिन बाँकी रहेको र भुक्तानी नदिएपछि व्यवसायीहरूले सामग्री उपलब्ध गराउन छाडेको बताए ।

सडक विस्तारका लागि पश्चिम र पूर्वी खण्डका १३ वटा क्रसर उद्योगले कम्पनीलाई ढुंगा गिट्टी उपलब्ध गराएको तर पश्चिम र पूर्वी खण्डका क्रसर व्यवसायीले उपलब्ध गराएको ढुंगा गिट्टीको मात्र ७५ करोडभन्दा बढी रकम बाँकी रहेको अधिकारीले बताए ।

त्यसैगरी, दुवै खण्डमा काम गरेका पेटी कन्ट्र्याक्टको २० करोड, सप्लायर्समार्फत टिपर भाडामा लिई सञ्चालन गरेबापतको ६ करोडसहित अलकत्रा, जग्गा भाडा गरी करिब १ अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको उनको भनाइं छ ।

भुक्तानी नपाए कम्पनीको कार्यालयमा तालाबन्दी गरी आन्दोलन गर्नेबारे चाइना राजदूतावास र एसियाली विश्व बैंकलाई जानकारी दिने र त्यति गर्दा पनि भुक्तानी नभए मजदुरसहित १५ दिनपछि परासीको रानीपाकडस्थित कार्यालयमा तालाबन्दी गर्ने अधिकारीको भनाइ छ । भुक्तानीबारे जानकारी लिन खोज्दा कम्पनीमा रहेका कर्मचारीले आधिकारिक व्यक्तिसँग सम्पर्क गराउन चाहेनन् ।​​

गैँडाकोटदेखि दुम्किबाससम्मको ६५ किलोमिटरलाई पूर्वी खण्ड र बुटवलदेखि दाउन्नेसम्मको साढे ४८ किलोमिटरलाई पश्चिम खण्डका रूपमा विभाजन गरेर सडक विस्तारको काम भइरहेको छ ।

पूर्वी खण्डको चोरमारादेखि अरुण खोलासम्म सुस्त गतिमा काम भए पनि अन्य खण्डमा काम ठप्प छ ।

पश्चिम खण्डको काम पूरै ठप्प छ । राजमार्ग विस्तार अन्तर्गत बुटवलदेखि दाउन्नेसम्मको सडकमा ५२ दशमलव ७ प्रतिशत काम भएको आयोजना कार्यालय पश्चिम खण्डका प्रमुख इन्जिनियर शशांक मिश्रले जानकारी दिए । त्यसैगरी, गैँडाकोटदेखि दुम्किबाससम्मको सडकमा ५३ प्रतिशत काम भएको पूर्वी खण्ड आयोजनाका सूचना अधिकारी शिव खनालले बताए ।

प्रकाशित : २०८१ कार्तिक १४ गते ७:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI