नेपालको लगातार तेस्रो हार

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज ७ गते ६:५५
नेपालको लगातार तेस्रो हार

कावासोती । नेपालको आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग–टुमा खराब प्रदर्शनको क्रम सोमबार पनि जारी रह्यो र टिमले हारको क्रमलाई तोड्न सकेन । नेपाल क्यानडा भ्रमणको तेस्रो खेलमा लगातार पराजित रहेको हो । त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल क्यानडाको हातबाट पाँच विकेटले पराजित भएको हो ।

यो नतिजापछि नेपाल सात खेलबाट दुई अंकमै सीमित रहेर आठ टिममध्ये सातौंमा रह्यो । नेपाल यी सात खेलमा एकै जित निकाल्न मात्र सफल रहेको छ । क्यानडा भने ११ खेलबाट १४ अंक बुटलेर लिग तालिकाको शीर्षमा उक्लेको छ । यस सिरिज अगाडि क्यानडासँग नहारेको नेपालले अब भने उसका विरुद्ध लगातार दोस्रो खेलमा हार आत्मसात गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रन मात्र बनाएको थियो । खराब सुरुआत गरेको नेपालले ८७ रन बनाउँदासम्म सात विकेट गुमाइसकेको थियो । अझ ३६ रन बनाउँदासम्म नेपालका पाँच विकेट झरिसकेको थियो । क्यानडेली बलरमध्ये कलिम साहले तीन र डिलान हेयलिगरले दुई विकेट लिए ।

नेपाललाई केही सम्मानजनक स्कोरसम्म पुर्‍याउन तल्लो क्रमका ब्याटरले भूमिका खेले । त्यसमध्ये गुल्झन झाले ३४, सोमपाल कामीले २१ रन सन्दीप लामिछानेले ४९ र करण केसीले २४ रन बनाए । जवाफमा क्यानाडले ४२ ओभरमा पाँच विकेट गुमाएर १ सय ८६ रन बनाउन सफल रह्यो ।

क्यानडाका लागि ओपनर नवनित धालिवालले सर्वाधिक ८७ रन बनाए । उनले परगत सिंहसँग मिलेर स्कोरलाई एक विकेटमा १ सय २९ रनको मजबुत स्थितिसम्म पुर्‍याएका थिए । नवनित नै ‘प्लेयर अफ द म्याच’ भए । उनले आठ चौका र चार छक्का प्रहार गरे । यस्तै परगतले ६४ रनको योगदान गरे ।

प्रकाशित : २०८१ असोज ७ गते ६:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI