काभा महिला भलिबल फाईनलमा नेपाल भारतसँग खेल्दै

NAWALPUR TIMES

काभा महिला भलिबल फाईनलमा नेपाल भारतसँग खेल्दै
1722997892326

कावासोती । नेपाली महिला टिम सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको फाइनलमा पुगेको छ । नेपालले मंगलबार राखेप कभर्डहलमा भएको दोस्रो सेमिफाइनलमा इरानलाई सोझो सेटमा पराजित गरेको थियो ।

नेपालले इरानी टिममाथि २५–२१, २८–२६, २५–२० को नतिजा निकाल्यो । नेपालले बुधबार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले मंगलबार नै पहिलो सेमिफाइनलमा श्रीलंकालाई सोझो सेटमै पराजित गरेको थियो । भारतले २५–१५, २५–१६, २५–२३ को सेटमा जित पाएको हो ।

‘हामी वर्चस्व जमाएर खेल्नुपर्छ भनेर आएका थियौं, त्यसले पनि हाम्रो खेलमा सहयोग पुग्छ जस्तो लाग्छ । हामी दोस्रो सेटमा पछाडि पर्दा पनि यो सिद्धान्तले काम गरेको थियो, आक्रामक खेल्नुपर्छ भन्ने टिमले नै बुझेर खेलेकाले सोझो सेटमा सफलता हात पार्न सफल भयौं,’ खेलपछि नेपालकी कप्तान अरुणा शाहीले भनिन्, ‘हामीले इरानलाई अघिल्लो खेलमा पनि तीन सेटमै पराजित गर्नुपर्थ्यो, तर आफ्नै कमीकमजोरीले खेल हार्न पुग्यौं ।’

५ राष्ट्र सहभागी प्रतियोगिताको राउन्ड रोबिनको लिगमा नेपालले भारतमाथि ५ सेटको प्रतिस्पर्धामा ३–२ को नतिजा निकालेको थियो । नेपालले उक्त खेल २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले आफ्नो पक्षमा पारेको थियो । भारतमाथि नेपालको यो पहिलो जित थियो । यही लय कायम राख्दै भारतमाथि फाइनलमा अर्को विजय हात पारेमा नेपालले आफ्नो भलिबल इतिहासमा सवैभन्दा ठूलो सफलता पाउने छ ।

इरानसँग राउन्ड रोबिन लिगमा पाएको पराजयको बद्ला लिँदै नेपालले फाइनल यात्रा तय गरेको हो । इरानले २५–१६ १६–२५, २५–२३, १५–२५, १५–१३ को नतिजासहित लिगमा नेपालमाथि सानदार सफलता हात पारेको थियो । इरानले मंगलबार पनि यही संकेत गरेको थियो, जतिखेर टोलीले पहिलो सेटमा ५–१ को अग्रता बनाएको थियो ।

लिग चरणमा देखाएको इरानको बलियो रक्षापंक्तिलाई चिर्दै नेपालले खेलमा उत्कृष्ट पुनरागमन गरेको हो । तर, इरानको गलत सर्भिसको फाइदा उठाउँदै नेपालले अंक लिन थालेपछि ६–५ को अग्रता बनायो । इरानको टाइमआउटले पनि नेपालको गति रोक्न सकेन । १६–१० को मजबुत अग्रता बनाउँदै घरेलु टोली पहिलो सेट जित्न सफल भयो ।

दोस्रो सेटमा पनि नेपालले ११–६ को अग्रता बनाउँदै खेलमा हाबी हुन खोजेको थियो । उषा भण्डारी, सरस्वती चौधरी र निरुता ठगुन्नाको स्पाइकमा नेपालले लगातार अंक जोडेको थियो । इरानले जुझारु प्रदर्शन देखाउँदै २४–२१ को अग्रता बनाए पनि उषाको लगातार तीन स्पाइकमा नेपालले खेल २४–२४ को बराबरीमा ल्याएको थियो । इरानले पुनः अंक जोड्दै सेट प्वाइन्टमा पुगे पनि सफिया पुनले क्विक स्पाइकमा पुनः स्कोर बराबरीमा ल्याइन् ।

इरानले अर्को अंक जोडे पनि निरुताको लगातार तीन अंक लिएपछि नेपालले नाटकीय रूपमा दोस्रो सेट जितेर फाइनल नजिक पुगेको हो । उषाले कट सटमा महत्त्वपूर्ण अंक जोडेकी थिइन् । फलस्वरुप नेपालले तेस्रो सेटमा पनि हत्याउँदै सोझो तीन सेटमा सफलता पाएको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology