कावासोती । गैंडाकोट नगरपालिका-७ गैरीमा शनिबार दिउँसो भेटिएका दुईवटै शव सिमलतालको पहिरोमा परेर सडकबाट त्रिशूली नदीमा खसेर हराइरहेका बसका यात्रुको भएको पुष्टि भएको छ । शुक्रबार बिहानसिमलतालबाट दुईवटा यात्रु बस त्रिशूलीमा खसेका थिए ।
गैंडाकोटमा भेटिएका दुईमध्ये एक शव चितवनको माडी नगरपालिका-१ का २२ वर्षीय विकास परियारको भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । दाइ विजय परियारले चिनेर शवको सनाखत गरेका हुन् । पोस्टमार्टम गर्न बाँकी नै रहेका कारण शव भरतपुर अस्पतालको शवगृहमा छ । विकास वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा थिए ।
गैंडाकोटमा भेटिएका दुईमध्ये एउटा शव शनिबार नै बसका यात्रुको रहेको पुष्टि भएको थियो । सिमलतालको पहिरोमा परेर वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल यातायातको बस र काठमाडौंबाट गौर जान भरतपुरतर्फ आउँदै गरेको बस त्रिशूली नदीमा हराइरहेका छन् ।
वीरगञ्जबाट जाँदै गरेको बसमा २४ र गौर आउँदै गरेको बसमा २७ यात्रु रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जसमध्ये गौर आउँदै गरेका बसका तीन जना यात्रु सकुशल छन् । त्यस्तै हालसम्म तीन वटा शव फेला परेकोमा दुईवटा गौर जाँदै गरेको बसका यात्रु हुन् । हराइरहेका दुवै बस र यात्रुको खोजी हिजो साँझबाट स्थगित थियो । अहिले बिहान आठ बजेदेखि फेरि खोजीकार्य सुरु भएको छ ।
प्रकाशित : २०८१ असार ३१ गते ८:४०
Facebook Comment