कावसोती । प्रेमको प्रतिक मानिने रानी महल घुम्न गएर फर्कने क्रममा आईतबार तानसेन–रानीमहल सडकखण्डको वैकुण्ठ भीरमा जिप दुर्घटना हुँदा देवचुली-१६ रजहरको एकै परिवारको ६ जनाको निधन हुँदा सिङ्गो रजहर गाउँ शोकमा डुबेको छ ।
देवचुली-१६ रजहरका ईश्वरबहादुर लोहनी आफैले गाडी चलाएर लिएर परिवार सहित रानी महल घुम्न गएका थिए । रानी महलबाट तानेसन तर्फ फर्किने क्रममा ईश्वरले चलाएको स्कार्पियो गाडी वैकुण्ठ भीरमा सडकबाट १ सय मिटर तल खस्दा गाडीमा सवार ईश्वर बाहेक ६ जनाको घटनास्थलमा निधन भएको थियो । घटनामा गम्भीर घाईते भएका ईश्वरलाई युनाइटेड मिसन अस्पताल पाल्पा लगिएको थियो । हातखुट्टामा गम्भीर चोट लागेका उनलाई थप उपचारका लागि काठमाडौको ह्याम्स अस्पताल लगिएको देवचुली-१६ का राजन गौतमले जानकारी दिए ।
दुर्घटनामा ईश्वरका बुबा कृष्णबहादुर लोहनी आमा पार्वती लोहनी, श्रीमति सबिना धिताल, सासू आमा चुना धिताल र दुई छोराहरु सबिस लोहनी, ईसब लोहनीको निधन भए पछि सिङ्गो रजहर गाउँ शोकमा डुबेको छ ।
लमजुङ बेसीसहरबाट रजहर झरेदेखि नै उनीहरु सामाजिक काममा पनि सक्रिय भएकाले धेरै जनासँग नजिक रहेको र दशैंको मुखमा दुर्घटनामा परिवारका अधिकांश सदस्यको ज्यान गएपछि विक्षिप्त बनाएको देवचुली-१६ का वडा अध्यक्ष केशवराज गौतमले बताए ।
‘फूलपाती भित्राउँदा सँगै दशैं भित्राएका छिमेकी र टोलका मानिसहरु आफैं छाँगाबाट खसेझैं भएका छन् । फूलपाती मन्दिरमा त भित्रायौं तर लोहनी परिवारका धेरैलाई एउटै दुर्घटनाले चुँडेर लग्यो,’ वडाध्यक्ष गौतमले गला अवरुद्ध पार्दै भने । परिवारका एक छोरा भुवन अमेरिकाबाट घटना सुनेलगत्तै नेपाल आउँदै छन् ।
प्रकाशित : २०८० कार्तिक ६ गते १२:०८
Facebook Comment