नवलपुरका सबै स्थानीय तहमा शिक्षकको धर्ना

NAWALPUR TIMES

नवलपुरका सबै स्थानीय तहमा  शिक्षकको धर्ना
1691913793479

कावासोती । नेपाल शिक्षक महासङ्घले नवलपुरका सबै स्थानीय तहमा तीन घण्टा धर्ना दिएको छ । महासङ्घमा आबद्ध सबै घटक संस्थाहरुले बिहान ११ बजेदेखि तीन घण्टा धर्ना दिएका हुन् । धर्ना दिए पनि विद्यालय भने सञ्चालनमा रहेको नेपाल शिक्षक महासङ्घ नवलपुरका सचिव गिरिराज गिरीले जानकारी दिनुभयो ।

विगतमा शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच भएका ५१ र ३० बुँदे सहमति कार्यनयन र नयाँ शिक्षा ऐनमा शिक्षकका माग सम्बोधनका लागि दबाब दिन धर्ना दिइएको महासङ्घका केन्द्रीय सदस्य नारायण अर्यालले जानकारी दिनुभयो । धर्नालगत्तै महासङ्घले मन्त्रालयसँग भएको ३० बुँदे र ५१ बुँदे सहमतिको प्रतिलिपि सबै पालिकालाई बुझाएको छ ।

महासङ्घले पहिलो चरणको विरोधका कार्यक्रमअन्तर्गत साउन ३० गते सबै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइमा सम्बन्धित जिल्लाका शिक्षक कर्मचारीको उपस्थितिमा जिल्ला समन्वय एकाइमा धर्ना दिने कार्यक्रम तय गरेको छ ।

त्यस्तै, साउन ३२ गते प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना, भदौ १ गते सङ्घीय सांसदहरुलाई जानकारी गराउँदै सहयोगका लागि आग्रह गर्ने कार्यक्रम तय गरेको छ । पहिलो चरणका कार्यक्रमबाट मागको सुनुवाइ नभए दोस्रो चरणमा देशभरिका शिक्षक र कर्मचारीहरुको उपस्थितिमा काठमाडौंमा लगातार विरोध प्रदर्शन गर्ने महासङ्घका जिल्ला अध्यक्ष चन्द्रदेव तिवारीले जानकारी दिनुभयो ।

‘‘अहिले सार्वजनिक भएको विद्यालय शिक्षा ऐन २०८० ले प्रबन्ध गरेका केही दफाहरु संविधानप्रदत्त अधिकार, पेशागत सुरक्षा र स्वाभिमानको खिलाफमा छन्,’’ अध्यक्ष तिवारीले भन्नुभयो, ‘‘त्यसलाई दबाब दिनका लागि आन्दोलन गर्न बाध्य भएका हौं ।’’

विशेष शिक्षा परिषद्को दरबन्दीमा कार्यरत शिक्षकहरुको आफ्ना लागि परीक्षासम्बन्धी विशेष व्यवस्था गरी शिक्षक सेवा आयोगबाट स्थायी गर्ने प्रबन्ध गर्नुपर्ने महासङ्घको माग छ । त्यस्तै, २०७२ असोज ३ गते पछिका अस्थायी/करार शिक्षकको पनि त्यसअघिका अस्थायी शिक्षकलाई जस्तै आन्तरिक खुल्ला परीक्षाको व्यवस्था गरी स्थायी गर्नुपर्ने शिक्षकहरुको माग छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology