उद्योग नविकरण नभएको भन्दै नवलपुरमा ढुङ्गा, गिटी र बालुवाकाे बिक्री बन्द

NAWALPUR TIMES
प्रकाशित : २०८० असार १७ गते १२:२८
उद्योग नविकरण नभएको भन्दै नवलपुरमा ढुङ्गा, गिटी र बालुवाकाे बिक्री बन्द

दीपक भट्टराई/कावासोती
सरकारले क्रसर उद्योग नवीकरण नगरेपछि नवलपुरका व्यवसायीहरूले पनि आज देखि गिट्टी र बालुवाको बिक्री–वितरण बन्द गरेका छन छन् ।

क्रसर व्यवसायीहरूले असार १५ गतेसम्म उद्योग नवीकरण गर्न सरकारलाई अल्टिमेटम दिएका थिए । तर, सो दिनसम्म सरकारले क्रसर उद्योग नवीकरण गर्नेबारे चासाे नदेखाएपछि आज देखि नवलपुरका ब्यवसायीले पनि गिट्टी बालुवाको बिक्री बन्द गरेका हुन ।

नेपाल क्रसर तथा खानी उद्योग–व्यवसायी महासंघले असार ३ गते काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उद्योग नवीकरण गर्न आग्रह गरेको थियो । १५ असारसम्म नवीकरण नगरे सेवा बन्द गर्ने महासंघले चेतावनी दिएको थियो । सोहीअनुसार आजदेखी नवलपुरमा पनि बालुवा गिट्टीको उत्पादन (प्रशोधन) र बिक्री–वितरण बन्द गरिएकाे नेपाल राेडा ढुङ्गा ब्यवसायी नवलपुरका जिल्ला उपाध्यक्ष रिभर कुमार श्रेष्ठ ले बताए  । आफुहरूका माग पूरा नभएसम्म अनिश्चितकालीन रूपमै नवलपुर जिल्ला भरी बालुवा र गिट्टीको बिक्री–वितरण बन्द गर्नै उनको भनाइ छ ।

मापदण्ड नपुगेको भन्दै सरकारले ०७१ यता क्रसर उद्योग नवीकरण गरेको छैन । पछिल्लोपटक गृह मन्त्रालयले गत पुस २० गते अस्थायी रूपमा क्रसर उद्योग बन्द गराएको थियो । क्रसर उद्योगहरू कानुनअनुसार नचलेको भनेर सरकारले उक्त कदम उठाएको थियो । पछि माघ ११ को मन्त्रिरिषद्को बैठकले मापदण्डलगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगबाट कानुनबमोजिम लाग्ने कर, दस्तुर, शुल्कलगायतका राजस्व लिई ०८० असार मसान्तसम्म यथावत् रूपमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर, त्यो निर्णयमा उद्योग नवीकरण गर्ने भन्ने शब्द नराखेर सञ्चालन गर्न दिने शब्द मात्र राखिएको थियो । सोही कारण अझै क्रसर उद्योग नवीकरण हुन सकेका छैनन् ।

उद्योगी–व्यवसायीहरू जिल्ला–जिल्लामा रहेका सम्बन्धित निकायमा कर, दस्तुर शुल्कलगायतका राजस्व रकम बुझाउन जाँदा पनि पत्रमा नवीकरणको भाषा स्पष्ट नभएको कारण जनाई रकम बुझ्न नमानेको ब्यवसायीले बताएका छन ।

यस कारण नवलपुरमा असार महिनामा हुने निर्माण गतिविधि पनि प्रभावित हुने भएको छ । निर्माणका लागि चाहिने कच्चा पदार्थ बालुवा र गिट्टीकै बिक्री रोकिएपछि निर्माण पनि प्रभावित हुने देखिएको हाे ।

प्रकाशित : २०८० असार १७ गते १२:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI