कावासोती (रासस) । पूर्वी नवलपरासीको गैँडाकोटमा दुई दिनदेखि जारी नारायणी नदी सम्मेलन १२ बुँदे गैँडाकोट घोषणापत्र जारी गर्दै मङ्गलबार सम्पन्न भएको छ ।
सम्मेलनको समापनका अवसरमा जारी गरिएको घोषणापत्रमा नदीको स्वच्छता, संरक्षण र दिगोपनाका विषय समेटिएका छन् । त्यसैगरी जलाधार क्षेत्रको संरक्षणका लागि जैविक एवं पारिस्थितिकीय प्रणालीमा आधारित क्रियाकलापमा जोड दिँदै नदीमा आश्रित जीव, समुदायको उत्थान एवं विकासमा जोड दिनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
सांस्कृतिक क्रियाकलाप गर्दा स्वच्छतामा ध्यान दिने, संरक्षणमुखी कार्यक्रम सञ्चालन गर्ने, औद्योगिक क्षेत्रको प्रदूषण नियन्त्रणसम्मका विषय वस्तु समेटेर गैँडाकोट घोषणापत्र जारी गरिएको सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले जानकारी दिनुभयो ।
दुई दिनसम्म चलेको सम्मेलनमा करिब दुई दर्जन कार्यपत्र प्रस्तुत गरिएको र सम्मेलनमा नदीको माथिल्लो तटीय क्षेत्रमा गरिएको फोहरले तल्लो तटीय क्षेत्र अझ बढी प्रभावित भएकाले नदीको सरसफाइ कायम राख्न सबै सरोकारवालाको महत्त्वपूर्ण भूमिका रहने कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
नारायणी नदीको जलाधार क्षेत्रबाट पूर्वी नवलपरासी, चितवन र मकवानपुर गरी चार लाख ६८ हजार हेक्टर क्षेत्रका करिब ११ लाख जनसङ्ख्या प्रभावित हुने भएकाले नारायणी नदीको संरक्षणमा सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने सम्मेलनका वक्ताले जोड दिएका थिए ।
डब्लुडब्लुएफ, जलाधार संरक्षण केन्द्र गण्डकी प्रदेश, गैँडाकोट नगरपालिका, त्रिभुवन विश्वविद्यालय वातावरण विभाग, लुथरनसँगको सहकार्यमा गैरसरकारी संस्था सहमतिको ‘सिमसार क्षेत्र पुनःस्थापना र नारायणी तटीय सामूहिक प्रयास तथा कार्ययोजना’ परियोजनाको आयोजनामा सुरु भएको सम्मेलनको सोमबार गण्डकी प्रदेशका कृषि ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले गर्नुभएको थियो ।
प्रकाशित : २०७९ फागुन २ गते २१:३३
Facebook Comment