पुर्वी नवलपरासीमा सडक अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज १९ गते १९:१७
पुर्वी नवलपरासीमा सडक अवरुद्ध
241758555 537331107348913 4726440822440722063 n 768x576 1

कावासोती(रासस) । पूर्वीनवलपरासीको पहाडी क्षेत्र जोड्ने मुख्य सडकमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध भएको छ ।

दलदले–कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पाङ्ग्रेमा पहिरोले यातायात सेवा अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी लेखनाथ पुरीका अनुसार लगातारको वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेको छ । सडक अवरुद्ध भएपछि बौदिकाली र बुलिङ्गटार गाउँपालिकाको यातायात सेवा ठप्प भएको छ ।

दलदलेबाट पहाडी क्षेत्रका लागि छुटेका र पहाडी क्षेत्रबाट दलदलेतर्फ आउँदै गरेका सवारीसाधन पाङ्रग्रेमा राेकिएका छन् ।

दसैँमा टीका लगाउन हिँडेका सयौँ यात्रु पैदल नै आफ्नो गन्तव्यतर्फ लागेका छन् । उक्त क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ । पहिरो झर्ने क्रम नरोकिएकाले सडक पुनः सञ्चालनमा कठिनाइ भएको पुरीले बताए ।

राइकोटबाट दलदलेका लागि छुटेको गण्डकी प्रदेश–०४–००१ ज ००६ नम्बरको जिप पहिरोमा परेको छ । जीपमाथि पहिरो खसे पनि त्यसमा सवार यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित : २०७९ असोज १९ गते १९:१७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI