पुष्पलाल स्मृति दिवस :गणतन्त्रको जग राख्ने दुरदर्शी नेता

NAWALPUR TIMES

पुष्पलाल स्मृति दिवस :गणतन्त्रको जग राख्ने दुरदर्शी नेता
Puspalal smriti

कलकत्ताको श्यामबजारस्थित नवीन गल्लीको एउटा पुरानो घरमा लेनिन जयन्तीको सन्दर्भ पारेर सन् १९४९ अप्रिल २२ (२००६ साल वैशाख १० गते) नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको ७२ वर्ष भइसकेको छ ।

वि.सं. २००७ को जनक्रान्तिमा मुक्ति सेनाका रूपमा भाग लिनुभएका लक्ष्मीभक्त उपाध्याय लम्साल २००८ सालदेखि निरन्तर कम्युनिस्ट आन्दोलनमा समाहित हुनुहुन्छ । यसबीचमा लामो समय पुष्पलालसँग समेत सहकार्य गरेका उपाध्याय भन्छ्न, “पुष्पलालकै संयुक्त जनआन्दोलनको कार्यदिशाबाट मुलुकमा महत्त्वपूर्ण परिवर्तन भएकाले प्राप्त उपलब्धिको रक्षा र विकासका लागि समेत वाम तथा प्रजातान्त्रिक शक्तिबीचको समन्वय, सन्तुलन र एकता आवश्यक हुन्छ ।”

शिक्षित युवापुस्तामा मौलाएको राणा विरोधी भावना, छिमेकी मुलुकमा फैलिएको लोकतन्त्र र स्वतन्त्रताप्रतिको चाहना, अनि मुलुकभित्र सामाजिक, आर्थिक शोषण र असमानताविरुद्धका जनसङ्घर्षलाई सङ्गठित पार्दै पुष्पलालले पहिलो पटक २००५ सालमा माक्र्स र एङ्गेल्सले लेखेको कम्युनिस्ट पार्टीको घोषणापत्रलाई नेपालीमा अनुवाद गरेका थिए । घोषणापत्र अनुवादसँगै पुष्पलालले नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्र लेखेर नेपाली राजनीतिको मिहिन ढङ्गले विश्लेषण गर्दै श्रमजीवी वर्ग, समुदाय, पिछडिएका जाति र जनताको मुक्तिको जग राखेका उपाध्यायको भनाइ छ । माक्र्सवादी दृष्टिकोणबाट नेपाली समाजको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक विश्लेषण गरी गणतन्त्रको जग राख्ने दूरदर्शी नेताका रूपमा समेत पुष्पलाललाई लिइन्छ ।

नेपालमा पञ्चायती व्यवस्था अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशालाई पुष्पलालले नै अगाडि बढाएका थिए। नेपाली राजनीतिमा दूरदर्शी नेताका रूपमा यतिबेला पुष्पलालको योगदान बिर्सन नहुने उनको भनाइ छ  ।
पूर्वी पहाडी रामेछापको भँगेरीमा १९८१ असार १५ गते जन्मिएका पुष्पलाल श्रेष्ठको भारत प्रवास रहेकै अवस्थामा २०३५ साल साउन ७ गते निधन भएको थियो । उनको अस्तुलाई नेपाल ल्याएर विभिन्न स्थानमा सेलाइएको थियो । पुष्पलालले आफ्नो सम्पूर्ण जीवन अभाव, कठिनाइ र प्रवास बसाइका बीच पनि कम्युनिस्ट आन्दोलनको विकास, नेपाली समाजको सामाजिक, आर्थिक, सांस्कृतिक विषयमा मिहिन ढङ्गले अध्ययन र विश्लेषणमा खर्चेको इतिहास छ ।

वि.सं. २०१७ पुस १ गते राजा महेन्द्रद्वारा निरङ्कुश पञ्चायती व्यवस्था लादिएपछि गुमेको जनअधिकार प्राप्तिका लागि लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर नै निरङ्कुशतालाई परास्त गर्न सकिन्छ भन्ने संयुक्त जनआन्दोलनको अवधारणा अगाडि सार्नुहुने दूरद्रष्टा पनि हुनु, पुष्पलाल । जसको मार्गदर्शनबाट नै मुलुकले ठूलाठूला राजनीतिक परिवर्तन हासिल गरेको छ ।

पुष्पलाललाई सम्झँदै वामपन्थी नेता एकलाल श्रेष्ठ भन्छ्न ‘‘राजनीति जालझेलको विषय होइन, वास्तविक वस्तुस्थितिको आधारमा गरिने वर्गीय विश्लेषणको निचोड हो ।’’ यद्यपि, नेपाली राजनीतिको पछिल्लो परिस्थिति नियाल्दा कम्युनिस्टले वर्गीयभन्दा जातीय र क्षेत्रीय विश्लेषणका आधारमा आफ्ना रणनीति अगाडी बढाएको श्रेष्ठको बुझाई छ ।

माक्र्सवादी दृष्टिको णबाट नेपाली समाजको आर्थिक, सामाजिक विश्लेषण गर्ने पहिलो नेता पुष्पलाल नै भएको निष्कर्ष पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईको छ । उनका अनुसार , नेपाली राजनीतिमा दस्तावेजका रूपमा गणतन्त्रको स्वर ल्याएको पनि पुष्पलालले नै हो । यद्यपि, प्रचण्ड गोर्खा नामको दल खडा गरे बापत बन्दी बन्नुभएका खड्गमान सिंहले ‘रुसमा जार शाही ढले जस्तै यहाँ पनि गणतन्त्र आउन सक्छ’ भने र  राणाशाहीविरुद्ध बोल्नुभएको थियो । सामन्तवादको उन्मूलन गर्दै जनवादी गणतन्त्रको सूत्रधार पुष्पलाल नै भएका भट्टराईको ठोकुवा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology