घोराही, २१ असार । दाङ जिल्लामा ज्वाइँलाई छोरा भनेर नागरिकताको प्रमाणपत्र दिन कीर्ते काम गरेको आरोपमा वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कीर्ते नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा दाङ देउखुरीको राजपुर गाउँपालिका – ७ का वडाध्यक्ष भीमबहादुर खड्कासहित भीमबहादुर कामी र उनकी छोरी सुशीला विकलाई प्रहरीले पक्राउ गरेको हो ।
भीमबहादुर कामीले उनका ज्वाइँ अर्जुन बिकलाई छोरा बनाएर नागरिकता दिएका थिए । कीर्ते काममा वडा कार्यालयले पनि सिफारिस गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नागरिकता बनाउँदा अर्जुनको नाम लीलाराम बिक राखिएको छ । अर्जुन बिक सुशीलाका श्रीमान् हुन् । हाल उनी रोजगारीको सिलसिलामा विदेशमा छन् ।
नागरिकतबारे उजुरी परेपछि अनुसन्धान गर्दा कीर्ते काण्ड बाहिर आएको छ । नागरिकता २०७५ साल असोज ४ गते इलाका प्रशासन कार्यालय लमहीबाट जारी भएको थियो ।
नागरिकतामा ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खवासको हस्ताक्षर छ । भीमबहादुरकी छोरी सुशीला मुख्य मतियारको रुपमा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०७८ असार २१ गते ९:०५
Facebook Comment