युवामा सर्वाधिक संक्रमण

NAWALPUR TIMES

युवामा सर्वाधिक संक्रमण
1621481991230

काठमाडौं : नेपालमा दैनिक कोरोना संक्रमणदर ८ हजार माथि छ। संक्रमितमध्ये सर्वाधिक संख्या युवा (२०–३९ वर्ष समूह)को छ। यसमा पनि ३० देखि ३९ वर्ष समूहका व्यक्ति सबैभन्दा बढी प्रभावित देखिन्छन्। दोस्रोमा २० देखि २९ वर्षका व्यक्ति बढी संक्रमित छन्। कोरोनाको पहिलो लहरमा भने बेला वृद्धवृद्धा र दीर्घ रोगीहरू बढी प्रभावित भएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक साता (वैशाख २९ देखि जेठ ४)सम्म मुलुकभर २० देखि ३९ वर्ष उमेर समूहका २७ हजार १ सय ८८ जना संक्रमित भएका छन्। जब कि ६० वा त्योभन्दा बढी उमेर समूहका संक्रमितको संख्या जम्मा ६ हजार ९ सय ३३ छ।

 

युवा समूहभित्र पनि ३०–३९ वर्ष उमेर समूहका १४ हजार १ सय ३ जना संक्रमित भएका छन्। यस्तै २०–२९ उमेर समूहका १३ हजार ८५ जनालाई कोरोना लागेको छ। सोही अवधिमा ६०–६९ उमेरमा ४ हजार २ सय २८, ७०–७९ वर्ष उमेर समूहका १ हजार ७ सय ८२, ८०–८९ उमेर समूहका ६ सय ७४ र ९०–१०० उमेर समूहका १ सय ३३ जना संक्रमित भएको मन्त्रालयको तथ्यांक छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भीडभाड र हिँडडुल गर्ने गरेका कारण युवाहरू बढी संक्रमित भएको बताउँछन्। ‘सबैभन्दा बढी पार्टीमा जाने र भीड गर्ने युवाहरू हुन्। जो धेरै हिँडडुल गर्छन्। घरबाट निस्किरहन्छन्, उनीहरूलाई संक्रमण बढी हुन्छ’, प्रवक्ता डा. गौतम भन्छन्, ‘बालबालिका र वृद्धवृद्धा घरमै बस्ने भएकाले उनीहरू कम संक्रमित छन्।’ आईसीयू र भेन्टिलेटरमा पनि युवाहरू नै बढी रहेको डा. गौतम बताउँछन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन नेपालसँगै भारतमा पनि कोरोना भाइरसले युवा समूहलाई बढी असर पुर्‍याइरहेको बताउँछन्। पहिलेभन्दा भाइरस बढी शक्तिशाली हुनु र युवा समूहले खोप लगाउन नपाएका कारण पनि कोरोनाको चपेटामा परेको डा. पुनको ठम्याइ छ।

‘पहिलोभन्दा दोस्रो लहरमा भाइरस निकै शक्तिशाली देखिएको छ। त्यही कारण यसले हरेक उमेर समूहलाई प्रभावित बनाइरहेको छ’, सरुवा रोग विशेषज्ञ डा. पुन भन्छन्, ‘युवा उमेर समूहका व्यक्तिले कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन्। खोप नलगाएका कारण पनि युवाहरू कोरोनाको चपेटामा पर्ने गरेको देखिएको छ।’  प्रवक्ता डा. गौतम भने युवाहरूले खोप लगाउन नपाउनुलाई ठूलो कारण मान्दैनन्। खोपभन्दा पनि ‘मोभिलिटी’का कारण युवामा संक्रमणदर उच्च रहेको भएको दाबी डा. गौतम गर्छन्। ‘खोप लगाउन नपाउनु सामान्य कारण मात्रै हो। मुख्य कारण भीडभाड नै हो’, उनी भन्छन्, ‘युवा समूहका मानिसहरू बढी नै छाडा भए। उनीहरू आफू मात्र संक्रमित हुने होइन, अरूलाई पनि संक्रमणको चपेटा पारिरहेका छन्।’

यसमा डा. पुनको बुझाइ भने अलि फरक छ। देशभित्रको भीडभाडले मात्र होइन, भारतलगायत विभिन्न मुलुकबाट आउनेहरू पनि अधिकांश युवा भएकाले उनीहरूमा जोखिम बढी देखिएको उनी बताउँछन्। ‘छिमेकी मुलुक भारतलगायत विभिन्न मुलुकबाट नेपाल भित्रिएकाहरू अधिकांश युवा छन्। उनीहरू दैनिक जीवनमा पनि धेरै नै सक्रिय हुन्छन्’, उनी भन्छन्, ‘त्यही कारण पनि उनीहरूमा संक्रमणको दर बढी देखिएको हुनसक्छ।’

डा. गौतमका अनुसार निषेधाज्ञाको समयमा पनि ५९ प्रतिशत मात्र आवतजावत रोकिएको छ। विवाह, ब्रतबन्ध, पूजा, सामाजिक गतिविधि, राजनीतिक कार्यक्रमको बहानामा निषेधाज्ञाको उल्लंघन भइरहेको छ। धेरै संक्रमण भएका काठमाडौं उपत्यकालगायत जिल्लाहरूमा संक्रमित व्यक्तिहरू नै खुलेआम हिँडिरहेको पाइएको छ।

‘मानिसहरू विभिन्न बहानामा निषेधाज्ञाको उल्लंघन गरिरहेका छन्। कोरोना संक्रमित पनि खुलेआम हिँडिरहेको पाइएको छ’, उनी भन्छन्, ‘दोस्रो लहरलाई जसोतसो नियन्त्रण होला तर, हाम्रो आनीबानी परिवर्तन गरेनौं भने जनसंख्या धेरै नै घट्न सक्छ।’

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २ सय ३ जना संक्रमित थपिएका छन्। १ सय ९६ जनाको ज्यान गएको छ। ६ हजार ८ सय ९१ जना निको भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ६ सय २९ पुगेको छ। कोरोनाबाट हालसम्म ५ हजार ४ सय ११ जनाको मृत्यु भएको छ।-अन्नपूर्ण पोस्ट

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology