सोमपाललाई गर्‍यो कारबाही, यस्तो छ कारण

NAWALPUR TIMES

सोमपाललाई गर्‍यो कारबाही, यस्तो छ कारण
Sompal

काठमाडौं: नेपाल क्रिकेट संघ(क्यान)ले त्रिभुवन आर्मी क्लबका अलराउन्डर सोमपाल कामीमाथि कारबाही गरेको छ।बागमती प्रदेशविरुद्धको खेलमा अभद्र व्यवहार गरेको आरोपमा आर्मीका सोमपाल कारबाहीमा परेका हुन्।बागमतीविरुद्धको खेलमा कामीले गाली गरेको हुँदा अम्पायरले रिपोर्ट गरेपछि छानबिनको क्रममा दोषी पाइएको नेपाल क्रिकेट संघले जनाएको छ।सोमपाललाई खेलाडी संहिताको धारा २.३ अनुसार लेभल १ को दोषी पाइएपछि एक अंक घटाउनुका साथै चेतावनी दिइएको क्यानले उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को खेलाडी आचार संहिताको धारा २.३ ले खेलको क्रममा खेलाडीले अभिव्यक्त गर्ने भाषाबारे उल्लेख गरेको छ।

काठमाडौं मेयर्स कप क्रिकेटको बागमती र त्रिभुवन आर्मी क्लबबीचको स्पर्धामा म्याच रेफ्री रहेका समीर खानले कारबाहीबारे जानकारी गराएका हुन्।

आर्मीमाथि बागमतीको जित

बागमती प्रदेशले काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा विजयी भएको छ।

बिहीबार भएको खेलमा बागमतीले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १० रनले हराएको हो।

टियु क्रिकेट मैदानमा बागमतीले दिएको २ सय ६७ रनको लक्ष्य पछ्याएको आर्मी ४७.१ ओभरमा अलआउट हुँदै २ सय ५६ रनमा समेटियो।

उसका लागि कप्तान विनोद भण्डारीले शतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन्।

९६ बलमा शतक पूरा गरेका विनोदले १ सय १४ बलमा ८ चौका र ७ छक्कासहित १ सय १९ रन बनाए।

यस्तै, लोकेश बमले ४६, करण केसीले २४ रोहितकुमार पौडेल १५ रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

बलिङमा आरियो पौडेलले एक्लैले पाँच विकेट लिए।

यस्तै, रामनरेश गिरिले २, पारस खड्का, सानु देवकोटा र नन्दन यादवले एक–एक विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६६ रन बनायो।

उसका लागि पारस खड्काले शतकीय पारी खेले। उनले १ सय ३३ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक १ सय १९ रन बनाए।

यस्तै, नन्दन यादवले अविजित ४२, इशान पाण्डेले २६, आदिल खानले २१ र पृथु बाँस्कोटाले १२ रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा सोमपाल कामीले शानदार बलिङ गरे। १० ओभरमा ६५ रन खर्चिएर एक्लैले पाँच विकेट लिए।

यस्तै, विक्रम सोब, जितेन्द्र मुखिया, शाहव आलम र करण केसीले एक–एक विकेट हात पारे।

यस जितसँगै बागमतीले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। बागमतीले ४ खेलमा ४ अंक जोड्यो। बागमती तेस्रो स्थानमा रह्यो। आर्मीले ४ खेलमा २ अंक जोड्यो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology