अभिभावक तथा विद्यार्थीहरुका लागि योगाभ्यास कार्यक्रम

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २८ गते १०:५२
अभिभावक तथा विद्यार्थीहरुका लागि योगाभ्यास कार्यक्रम

कावासोती/फाल्गुन २७ । जनकल्याण माध्यमिक विद्यालय, कावासोती १, रिठ्ठेपानीले आफ्ना अभिभावक तथा विद्यार्थिहरुलाई ५ दिने निशुल्क योगाभ्यास कार्यक्रम संचालन गरेको छ ।

ब्रिटिश काउन्सिल, नेपाल र कावासोती नगरपालिकाको संयुक्त सहकार्यमा संचालित अन्तराष्ट्रिय स्कुल अवार्ड कार्यक्रम अन्तर्गत छनोट भएका परियोजनाहरु मध्ये योगा फर इम्युनिटीसंग सम्बन्धित रहेर विद्यालय सेवा क्षेत्र भित्र रहेका संघसंस्थाका सदस्य, अभिभावक तथा विद्यार्थीहरुलाई विहान ५ बजेदेखि ६.३०सम्म योगाभ्यास गराउंदै स्वस्थ जीवनशैलीको बारेमा जानकारी दिइएको उक्त विद्यालयका अन्तराष्ट्रिय स्कुल अवार्ड(आइएस) संयोजक तथा शिक्षक लक्ष्मीप्रसाद पंगेनीले बताउनुभयो ।

गत मंगलबारदेखि संचालन भैरहेको सो कार्यक्रममा स्थानीय स्वास्थ्य विज्ञका साथै विभिन्न योग प्रशिक्षकहरुले प्रशिक्षण दिइरहनु भएको छ ।  पहिलो दिन मध्यविन्दु बहुमुखी क्याम्पसका प्राध्यापक, सेवा निवृत स्वास्थ्य निरीक्षक तथा योग शिक्षक नरनाथ पाण्डे ज्यूको प्रशिक्षण रहेको थियो भने दोश्रो र तेस्रो दिन जनता माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तथा पतंजली योग समिति नवलपुरका अध्यक्ष पुरुषोत्तम भुर्तेलले प्रशिक्षण दिनुभएको थियो ।

शनिवार समापन हुने सो योगाभ्यास कार्यक्रमको चौथो र पाँचौ दिन पतंजली योग समिति गण्डकी प्रदेशका महामन्त्री गणेश आचार्यले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । विद्यालय नजिकै रहेको सौभाग्य बचत तथा ऋण सहकारी संस्था लि.संगको सहकार्यमा सहकारीका शेयर सदस्यहरुलाई पनि समावेश गराइएको सो संस्थाका उपाध्यक्ष सुर्जा अधिकारीले बताउनुभयो ।

अन्तराष्ट्रिय स्कुल अवार्डका परियोजनाहरुले विद्यार्थी, अभिभावक, स्थानीय तथा समाजमा सकारात्मक प्रभाव पार्नु पर्ने र सोको आधारमा अवार्डका लागि मुल्यांकन हुने भएकोले विद्यालयले स्थानीय अभिभावकहरुलाई कार्यक्रममा सहभागी गराइएको आइएसए संयोजक पंगेनीले बताउनुभयो ।

सो योगाभ्यास कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक तथा विद्यार्थी गरी करिव ६० जनाको सहभागिता रहेको बताइएको छ । कावासोती नगरपालिका क्षेत्र भित्र रहेका ४० वटै सामुदायिक विद्यालयहरुमा अन्तराष्ट्रिय स्कुल अवार्डका विभिन्न परियोजना संचालन भैरहेको र यो कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुनुका साथै शिक्षक र विद्यार्थीहरुमा अवसरका नयाँ ढोका खोलिदिने विश्वास कावासोती नगरपालिकाका श्रोत शिक्षक तिर्थराज कंडेलले व्यक्त गर्नुभयो ।

प्रकाशित : २०७७ फागुन २८ गते १०:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI