पहिलो एकदिवसीयमा अष्ट्रेलियाद्वारा भारत ६६ रनले पराजित

NAWALPUR TIMES

पहिलो एकदिवसीयमा अष्ट्रेलियाद्वारा भारत ६६ रनले पराजित
ind1606479419

भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टिम अस्ट्रेलिया विजयी भएको छ।

शुक्रबार सिड्नीमा भएको खेलमा अस्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको हो।

अस्ट्रेलियाले दिएको ३७५ रनको विशाल लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ८ विकेटको क्षतिमा ३०८ रन जोड्यो।

भारतका लागि हार्दिक पाण्ड्याले ९० रनको योगदान दिए। उनले ७६ बलमा ७ चौका र ४ छक्का हिर्काए।

ओपनिङ ब्याट्सम्यान शिखर धवनले ७४ रन जोडे। अर्का ‌ओपनर मयंक अग्रवाल २२ रनमा आउट हुँदा कप्तान विराट कोहलीले २१ रन भन्दा जोड्न सकेनन्।

श्रेयर इयर २ रन, केएल राहुल १२ रन, रवीन्द्र जडेजा २५ रन, मोहमद सामी १३ रनमा आउट भए। नवदीप सैनीले नटआउट २९ रन जोडे।

बलिङमा अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए। जोस हजलउडको नाममा ३ विकेट रह्यो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका कप्तान आरोन फिञ्च र स्टिभ स्मिथले शतक गरे।

फिञ्च र स्मिथको शतकमा अस्ट्रेलियाले ६ विकेटको क्षतिमा ३७४ रनको विशाल योगफल जोड्यो। यो भारतविरुद्ध कुनै पनि टिमले जोडेको तेस्रो ठूलो योगफल हो।

खेलमा फिञ्चले १२४ बलमा ११४ रन र स्मिथले ६६ बलमा १०५ रन जोडे। फिञ्चले ९ चौका र २ छक्का हिर्काउँदा स्मिथले ११ चौका र ४ छक्का हिर्काए।

ओपनर डेभिड वार्नरले ६९ रनको योगदान दिए। उनले ७६ बलमा ६ चौका हिर्काए। ग्लेन म्याक्सवेलले १९ बलमा ५ चौका र ३ छक्काको मद्दतमा जोडेको ४५ रन पनि अस्ट्रेलियाको विशाल योगफलको आधार बन्यो।

बलिङमा भारतका मोहमद सामीले ३ विकेट लिए। जसप्रित बुमराह, नवदीप शैनी र युजभेन्द्र चाहलले समान १-१ विकेट लिए।

भारतीय टिमले अस्ट्रेलिया भ्रमणका दौरान तीन खेलको एकदिवसीय सिरिजका साथै तीन खेलको टी–२० सिरिज र दुई खेलको टेस्ट सिरिज खेल्नेछ।

 

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology