आवाज निकाल्ने वित्तिकै लुकीहाल्ने लजालु कालो पोखरी

NAWALPUR TIMES

आवाज निकाल्ने वित्तिकै लुकीहाल्ने लजालु कालो पोखरी
1605589642914

हिमाली जिल्ला दोलखामा अवस्थित कालो पोखरी निकै अदभूत र लजालु छ । तपाइँ चुपचाप कुनै आवाज ननिकाली जानु भयो भने पोखरीको स्वरुप छर्लङ्ग देख्न सक्नु हुन्छ तर थोरै पनि मानिसको आवाज होहल्ला सुन्ने बित्तिकै बादलको घुम्टोभित्र लुक्ने गर्दछ ।
“सुरुमा त हामीलाई पनि विश्वास लागेको थिएन् तर जब हामीले पोखरीको गतिविधि नजिकै पुगेर नियाल्यौ तब पोखरीमा हल्ला गर्न नहुने रहेछ भन्ने थाहा भो।” गौरीशंकर गाउँपालिकाको अध्यक्ष स्वयमबहादुर खड्काले बताउनुभयो । “हामी पुग्दा खुल्ला पोखरी हल्ला पछि बादलले पुरै ढाक्यो।”
जिरी नगरपालिका वडा नम्बर –१ स्थित चार हजार ४३० मिटरको उचाइमा अवस्थित यस पोखरीको विशेष धार्मिक महत्व रहेको गौरीशंकर गाउँपालिका नेकपाका अध्यक्ष जंग गुरुङले बताउनुभयो ।
दोलखाको जिरी नगरपालिका–१ र रामेछापको गोकुलगंगा गाउँपालिका–१ को सिमानामा रहेका प्रसिद्ध जट्टा पोखरी, पाँच पोखरीभन्दा पश्चिमतिर करिब डेढ घण्टाको यात्रामा पुग्न सकिन्छ । यस पोखरीमा दिउँसोनै तारा देखिनेदेखि विभिन्न अदभूत क्रियाकलाप हुने गरेको उहाँ बताउनुहुन्छ । यहाँ तारा देख्नेहरु भाग्यमानी सावित हुने र मागेको पुग्ने जनविश्वास रहिआएको छ ।
गौरीशंकर गाउँपालिकाको मार्बु, चंखुबाट जाने सीमित यात्रु, चौरी र भेडा गोठालाहरुले मात्र देखेका कालो पोखरी माथिबाट हेर्दा कालो देखिन्छ ।
पाँच पोखरी, जट्टा पोखरी जाँदा कालो पोखरी दर्शन गरेर जानुपर्ने र फर्कदा हेर्नु हुँदैन भन्ने धार्मिक मान्यता समेत रहिआएको छ । जोकोहीलाई पुग्न कठिन भौगोलिक ठाउँमा अवस्थित र हरेक मौसममा हुस्सुले ढाकिराख्ने भएकाले पनि यसको दर्शन धेरैले गर्न पाएका छैनन् । स्थानीयले यस पोखरीलाई कालो पोखरी बाहेक भूत पोखरी र बौलाहा पोखरीको नामले पनि चिन्ने गरेको गौरीशंकर गाउँपालिकाका स्थानीय टीका गुरुङ बताउनुहुन्छ । “सानो आवाजमा पनि बादलले छोप्ने र सुनसानमा खुला हुने गर्छ ।” उहाँले भन्नुभयो । “धेरै पहिले आफूलाई तान्त्रिक बिद्यामा शक्तिशाली मान्ने एक झाक्री र पोखरीको नाग बीच लडाइँ हुँदा झाक्रीसंगै पुगेका साथीले सिकाएको मन्त्र जपेर पुजा गरि साथ नदिँदा नागले झाक्रीलाई मारेपछि मानिसहरु यस पोखरीको नजिक जान डराउने गरेको सुनेको थिए।” यहाँ पूजा गर्न टाढैबाट फूल अक्षता, त्रिशूल, भेटी चढाउँछन् ।
कालो पोखरी धार्मिक महत्व मात्रै नभइ प्राकृतिक रुपमा समेत मनोरम रहेको उल्लेख गर्दै गौरीशंकर गाउँपालिका अध्यक्ष खड्काले चंखुदेखि कालो पोखरी हुँदै पाँचपोखरी, जट्टा पोखरीसम्म जोड्ने पदमार्गलाई व्यवस्थित गर्ने बताउनुभयाे । Gorkhapatra अनलाइन बाट

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology