उनका अनुसार कोभिड र मौसमी रुघाखोकी दुवै संक्रमणसँग लड्नुपर्ने स्थितिमा शरीर झन् कमजोर हुने भएकाले त्यस्तो खोपले जटिल परिस्थितिबाट जोगाउन सक्छ । ‘पुस–माघसम्म संक्रमणको विस्तार जारी नै रहने देखिन्छ । त्यो बेलासम्म कोभिडविरुद्घको खोप बजारमा आउन सक्छ । त्यसैले जोखिममा रहेकाहरूले केही समय अझ जोगिएर बस्नुपर्छ,’ डा. पाण्डेले भने ।
कुल सक्रिय संक्रमितमध्ये ५० प्रतिशत हाराहारी काठमाडौं उपत्यकामै भएकाले राजधानीवासी सबैले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने विज्ञहरूले सुझाएका छन् । कुल सक्रिय संक्रमित ३९ हजार ६ सय ४३ मध्ये ४९.६३ प्रतिशत काठमाडौं उपत्यकामा छन् । कोभिडले हुने मृत्युदर बढिरहेको छ ।
हालसम्म पीसीआर परीक्षण गरेर कोभिड संक्रमण देखिएकामध्ये ८ सय ८७ जनाको मृत्यु भइसकेको छ । देशभरमा कोभिड संक्रमितमध्ये ३२ प्रतिशत मात्र महिला भए पनि पछिल्ला दिनमा यो प्रतिशत बढिरहेको छ ।
गत शुक्रबार कुल संक्रमितको ३७.५६ प्रतिशत, शनिबार ३५.०१ प्रतिशत, आइतबार ३७.३५ प्रतिशत, सोमबार ३८.८८ प्रतिशत, मंगलबार ३७.०१ प्रतिशत र बुधबार ३८.७९ प्रतिशत महिला छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार सक्रिय संक्रमितमध्ये ०.१० प्रतिशत व्यक्ति सघन उपचारमा छन् ।
हाल २ सय ९० जना आईसीयू र ७२ जना भेन्टिलेटरमा छन् । वाग्मती प्रदेशमा सबैभन्दा बढी १ सय ७८ जना आईसीयू र ५७ जना भेन्टिलेटरमा छन् । ‘देशभरिमा मंगलबार ५ सय ७० जनामा कोभिड पोजिटिभ देखिँदा मृत्यु हुनेको संख्या १४ पुग्नु बढी हो,’ डा. पाण्डेले भने, ‘पछिल्ला दिनमा परीक्षण कम भए पनि आईसीयू र भेन्टिलेटरमा रहेकाहरूको मृत्यु भइरहेको छ ।’
दसैंताका कोभिड–१९ को परीक्षण कम भएको छ । कुल पीसीआर परीक्षणमा बुधबार २३.६९ प्रतिशतलाई संक्रमण देखिएको छ । मंगलबार २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षणबाट ५ सय ७० जना (२५.४ प्रतिशत) मा संक्रमण पाइएको थियो । संक्रमणको दर सोमबार ३४.७७ प्रतिशत, आइतबार २३.१९ प्रतिशत र शनिबार २९.७ प्रतिशत थियो ।
कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ । बुधबार मात्र २ हजार ९ सय ८१ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ९ हजार २ सय ९५ वटा नमुना परीक्षण गरिएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४८ नमुनाको परीक्षण गरिएको हो ।
Facebook Comment