असईको घाटी रेटेर हत्या, जवानको अवस्था अझै अज्ञात

NAWALPUR TIMES

असईको घाटी रेटेर हत्या, जवानको अवस्था अझै अज्ञात
1603078334334
कैलाली, कार्तिक ३ । गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको छ। उनको हत्या तस्कर समूहले गरेको प्रहरीको अनुमान छ। उनको शव आइतबार बिहान मोहना नदीमा फेला परेको हो। प्रहरीका अनुसार तस्करीको ट्रान्जिट प्वाइन्ट मानिने कैलालीको धनगढी उपमहानगरपालिका–बनकट्टी घाटमा तस्कर समूहले शनिबार राति उनको हत्या गरेको हो। विकसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउदको अवस्था अझै अज्ञात छ।

घटनास्थलको प्रकृति हेर्दा विक र साउदलाई तस्कर समूहले घेराबन्दी गरेर आक्रमण गरेको देखिएको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए। ‘उखुबारीको छेउमा रहेको बाँझो खेतमा लछारपछार भएजस्तो देखिएको छ। छेउमै प्रहरीको एउटा जुत्ता पनि फेला परेको छ। त्यसको करिब ५० मिटर पर स्लिपिङ ब्याग र चप्पल भेटिएको छ। त्योभन्दा ५० मिटर दक्षिणतर्फ खेतमै रगत देखिएको र हत्या गरेर शव मोहना नदीमा फालिएको देखिन्छ’, उनले भने। रगत देखिएको नजिकै फुटेको अवस्थामा मोबाइल पनि भेटिएको छ। असई विकले बोकेको एक थान हतियार र गोली फेला परेको छैन। प्रहरी जवान साउदको खोजी भइरहेको ती प्रहरीले बताए।

असई विक अस्थायी प्रहरी पोस्टको इन्चार्ज भएर तीन महिनाअघि जुगेडा पुगेका थिए।

घटनास्थल नेपाल र भारत दुवैतर्फका तस्करको ट्रान्जिट प्वाइन्ट रहेको स्थानीयले बताएका छन्।नागरिक दैनिकबाट

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology