काठमाडौं। बलात्कार घटनालाई पैसासहित तमसुक गरेर मिलाएको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामा ८ जना पञ्च (घटना मिलाउने) रहेका छन्। एक जना बलात्कारका आरोपी हुन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आरोपी २० वर्षीय मुकेश कुमार साह पक्राउ परेका छन्।
पक्राउ परेका पञ्चमा ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरविन्द कुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राजकुमार साह, ४२ वर्षीय राम उदगार यादव, ६१ वर्षीय जगविर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदी भन्ने श्यामसुन्दर यादव रहेका छन्।
उनीहरूलाई सिरहाको बिष्णुपुर गाउँपालिका-१ मा गत सोमबार भएको बलात्कार घटनालाई पञ्चायत बसेर मिलाएको आरोपमा पक्राउ गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईले बताए।
साँझ ५ बजे सत्रुधन साहको घरमा मुकेशले सोही ठाउँकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको र पञ्चायत बसेर तमसुक गरेर मिलाएको पाइएको एसपी प्रसाईले बताए।
प्रहरीले तमसुक पनि बरामद गरेको छ।
Facebook Comment