रात परेपछि ओछ्यान बोकेर स्कुलमा, उज्यालो भएपछि घरमा

NAWALPUR TIMES

रात परेपछि ओछ्यान बोकेर स्कुलमा, उज्यालो भएपछि घरमा
1592102326.Landslide Parbat

पर्वत। निरन्तरको वर्षाले वस्तीमाथिको पहाड फुट्न थालेपछि पर्वतको फलेवास नगरपालिका-४, मुडिकुवास्थित एकघरेका करिब ४५ घरधुरी विस्थापित बनेका छन्।

 

कतिबेला पहिरो खसेर वस्ती नै पुर्ने हो भन्ने त्रासले उनीहरू सुत्नका लागि साँझ पर्नेबित्तिकै ओछ्यान बोकेर विद्यालयमा पुग्ने गरेका छन्। बिहान उठेर हेर्दा नपल्टिएको घर हेर्दै लामो सास फेरेर घरमा फर्किनुपर्ने बाध्यता छ।

 

एक साताअघि भएको अविरल वर्षाका कारण आएको पहिरोले पुरिएर स्थानीय एक बालिकाको ज्यानसमेत गएको थियो। ४५ घरधुरी रहेको एकघरेको वस्ती नै पुरिन वा बग्न सक्ने जोखिममा परेपछि उनीहरू आकाशको अवस्था हरेर ज्यान बचाउनकै लागि नजिकै रहेको माटेदेवल प्राविधिक विद्यालयको कोठामा पुगेर सुत्ने गरेका हुन्।

 

स्थानीय बालमुकुन्द घिमिरेले वर्षा होलाजस्तो भएमा खाना खाएपछि वस्तीका सबै मानिस बिस्तरा बोकेर विद्यालयमा जाने गरेको र बिहानै उठेर वस्तीमा गएपछि दैनिकी सम्हाल्ने गरेको बताए।

 

“यहाँ त हाम्रो त बिजोग नै भएको छ, पानी पर्लाजस्तो हुनासाथ ४५ घरधुरीका केटाकेटीदेखि वृद्धवृद्धासम्म सबै विद्यालयमा गएर सुत्ने गरेका छौँ। बिहान घर त बगेको रहेनछ भन्दै खुसीले घरमा गएर फेरि काम सम्हाल्छौँ”, उनले भने, “बस्तीमाथिको भीर चर्किएर झर्न थालेको छ। कतिबेला वस्ती नै पुरिने हो भन्ने टुङ्गो नै छैन। कतिबेला पहिरोले पुर्छ भनेर रातको निद्रा न दिनको भोक भएको छौँ।”

 

उनका अनुसार त्यो वस्तीका करिब २७० जनाको यही बेहाल भएको छ। वस्तीबाट करिब एक किलोमिटरमाथि रहेको मन्धराको गुफा भन्ने स्थानबाट पहिरो झर्न थालेपछि गाउँले घर छोडेर हिँड्न बाध्य भएको स्थानीय सुमन गौडेलले बताए।

 

पहिरो जान लागेको स्थानबाट झरेका ढुङ्गा वस्तीमै आइपुग्ने गरेकाले राति पहिरो आए जनधनको ठूलो क्षति हुने भएकाले विद्यालयमा आश्रय लिनुपरेको उनको भनाइ छ।

 

यता फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले पहिरोको जोखिममा रहेका वस्तीको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया सुरु गरिएको बताए।

 

अहिलेसम्म नगरपालिकामा सातवटा वस्ती तत्काल स्थानान्तरण गर्न नगरपालिकाले सङ्घ र प्रदेश सरकारसमक्ष सिफारिस गरिसकेको उनको भनाइ छ।

 

सिफारिस भएका गाउँमा उक्त बस्ती छुटेको हुनाले पुनःसिफारिस गर्न सकिने पनि नगरप्रमुख शर्माले बताए। उनले तत्काललाई आवश्यक सुरक्षा सावधानी अपनाउनसमेत आग्रह गरे।

 

पहिरोका कारण वडा नं ४ कै चुरी, वडा नं ३ को पुर्कोट र रुग्दी, वडा नं २ को दरदरे, वडा नं १० को फल्लालगायत गाउँ जोखिममा छन्।

 

गाउँ पहिरोको उच्च जोखिममा रहेकाले नगरस्तरीय विपद् व्यवस्थापन समितिको निर्णयानुसार सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सिफारिस गरिएको छ। रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology