कावासोती । दक्षिणकाली नगरपालिका–३ भन्ज्याङको जुनकिरी इंग्लिस बोर्डिङ स्कुलका विद्यार्थी आइतबार खेलकुद सप्ताहको उत्साहमा थिए । विद्यालयमा दौड, म्युजिकल चियर र स्पिकिङ प्रतियोगिता भएको थियो । आइतबारको प्रतियोगिता सकिएपछि विद्यालयको बस विद्यार्थी छोड्न फर्पिङतर्फ जाँदै थियो ।
तर, विद्यालयबाट छुटेको केही मिनेटमै बस दुर्घटना हुँदा चालक र १ विद्यार्थीको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।
‘सोमबार ब्याडमिन्टन र घैंटो फुटाउने प्रतियोगिता हुँदै थियो । कुन प्रतियोगितामा सहभागी हुने भनेर बसमा साथीसँग कुरा गर्दै थियौं । अचानक बसको सिट कभर अगाडि आयो । बस तल गएको लागेको थियो, खोलातिर पो झरेको रहेछ,’ ६ कक्षामा पढ्ने ११ वर्षीय विल्सन श्रेष्ठले भने, ‘मलाई चोट लागेको थिएन । गाडीको पछाडिबाट बाहिर निस्किएँ ।’ उनका अनुसार दुई वटा सिटमा उनीसहित तीन जना बसेका थिए । ‘शिक्षकहरू उभिनुभएको थियो,’ श्रेष्ठले भने ।
जुनकिरी इंग्लिस बोर्डिङको बा१क ५६६४ नम्बरको बस सडकबाट १ सय ५० मिटर तल डल्लु खोलामा खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा चालक र एक विद्यार्थीको मृत्यु भएको छ । ३५ वर्षका राधाकृष्ण मगर र ८ वर्षका विपिन श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले जानकारी दिए ।
घाइतेको मनमोहन अस्पताल फर्पिङ, कीर्तिपुर अस्पताल, ट्रमा सेन्टर, मेडिसिटी अस्पताल, दक्षिणकाली नगर अस्पताल, वयोधा अस्पताल, सहिद मेमोरियल अस्पताल, नर्भिक अस्पताल, स्टार अस्पतालमा उपचार भइरहेको छ । एसपी बोहराका अनुसार बसमा प्लेग्रुपदेखि कक्षा ६ सम्मका विद्यार्थी र शिक्षक सवार थिए ।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । विपरीत लेनमा गाडी खसेकाले चालकले लापरबाही गरेको हुन सक्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतको अनुमान छ । ‘बसमा क्षमताभन्दा धेरै यात्रु राखेको पनि देखिएको छ, थप अनुसन्धान गर्दै छौं,’ उनले भने ।
प्रकाशित : २०८१ माघ २८ गते १०:०७
Facebook Comment