नवलपरासीमा निषेधाज्ञा खुकुलो, पसलदेखि सरकारी कार्यालयसम्म खुल्ने

NAWALPUR TIMES

नवलपरासीमा निषेधाज्ञा खुकुलो, पसलदेखि सरकारी कार्यालयसम्म खुल्ने
nawalparasi 20200905125420

हरि शर्मा/परासी : पश्चिम नवलपरासीमा जारी निषेधाज्ञा खुकुलो बनाइएको छ। चौथो पटकसम्म लगाईएको निषेधाज्ञालाई खुकुलो बनाउँदै जिल्लाको पसल व्यवसायदेखि सरकारी कार्यालयको कामलाई सहज बनाइएको हो।

 

जिल्लामा साउन ३१ देखि पटक पटक समय थप गरेर निषेधाज्ञा लगाइएको थियो। आइतबारदेखि खुकुलो बनाइएको आदेश भदौ ३१ गतेसम्मका लागि हो। संक्रमितसँगै भिडभाड बढ्दै गए पुन: निषेधाज्ञालाई कडा बनाईने प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए।

जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकले गरेको निर्णयमा किराना पसल, कपडा तथा फेन्सी पसल, बिजुलीका सामान, भाँडाकुडालगायतका पसलहरु दिउँसो ११ देखि साँझ ५ सम्म खुला रहने छन्। तरकारी, फलफुल पसल, दुग्धजन्य पसल र माछा मासु बिक्री वितरण गर्न बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म पाइने छ। अत्यावश्यक उद्योग, कलकारखाना पनि खोल्न अनुमति दिइएको छ।  निर्माण सामग्रीका ढुवानीलाई पनि खुला गरिएको छ।

कुनै पनि सार्वजनिक यातायात चल्न पाउने छैनन्। शैक्षिक संस्था सञ्चालन, मेला ,महोत्सव, गोष्ठी, सैलुन पसललगायत भिडभाड हुने क्षेत्रमा रोक लगाइएको छ। बैंक तथा वित्तिय संस्थाहरुले सम्पर्क व्यक्ति तोकेर सेवा दिन सक्ने छन्।

त्यसैगरी सर्वसाधारणको सबैभन्दा बढी भिडभाड हुने मालपोत कार्यालय र नापी कार्यालयको काममध्ये प्रकृति तोकेर खुला गरिएको छ। मालपोत कार्यालयमा अंशबण्डा र राजीनामाबाहेक सबै सेवा सुचारु हुने निमित्त कार्यालय प्रमुख बेलप्रसाद भण्डारीले बताए। विगतमा टोकन प्रणाली लागू गरेकोमा त्यसलाई हटाइएको छ। हरेक बार एउटा स्थानीय तहको काम मात्र हुने छ। त्यसैगरी नापी कार्यालयले पनि स्थानीयतहहरुलाई बार तोकेर काम सुरु गरिने नापी कार्यालय प्रमुख सुग्रिव यादवले जानकारी दिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology