पीसीआर नतिजा २४ घण्टाभित्र दिन निर्देशन, कन्ट्याक्ट ट्रेसिङमा शिक्षक खटाउने तयारी 

NAWALPUR TIMES

पीसीआर नतिजा २४ घण्टाभित्र दिन निर्देशन, कन्ट्याक्ट ट्रेसिङमा शिक्षक खटाउने तयारी 
Corona 1598328697

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले २४ घण्टाभित्र पीसीआर परीक्षणको नतिजा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । कतिपय अवस्थामा २ सातासम्म पनि नतिजा प्राप्त नभएको भन्दै समितिले नतिजा पर्खेर उपचार नपाउने अवस्थाको अन्त्य गर्न निर्देशन दिएको हो ।

मङ्गलबारको भर्चुअल बैठकमा सरोकारवालासँग समेत छलफल गरेर समितिले यस्तो निर्देशन दिएको हो । समितिले परीक्षणको रिपोर्ट इमेल, फोन, म्यासेज अथवा भाइबर लगायतबाट उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले भाडामा बस्नेका लागि होम आइसोलेसन उपयुक्त नभएको भन्दै आइसोलेसन सेन्टर तत्काल बढाउन निर्देशन दिँदै पीसीआर परीक्षणको दायरा बढाउन पनि सरकारलाई निर्देशनमा भनेको छ ।

समुदायस्तरमा नै सङ्क्रमण फैलिएको भन्दै समितिले परीक्षण बढाउन भनेको हो । समितिले क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनका लागि भोलिन्टियर जनशक्ति उपयोग गर्न सरकारलाई सुझाव दिएको छ । यस्तै जनशक्ति अभाव भएमा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई पनि खटाउन समितिले सरकारलाई भनेको छ ।

शिक्षक खटाउने तयारी

यसैबीच सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई कन्ट्याक्ट ट्रेसिङमा खटाउने तयारी गरेको छ । लकडाउन भएयता सामुदायिक विद्यालय सञ्चालनमा छैनन् । एकाध बाहेकका विद्यालयले अनलाइन कक्षासमेत सञ्चालन गरेका छैनन् । शिक्षक खटाउनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुमति मागेको छ ।

भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले अनुमतिका लागि शिक्षा मन्त्रालयलाई पत्राचार गरिसकेको जानकारी दिए ।

कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्ने अवस्था भएको र शिक्षक त्यतिकै बसिरहेको भन्दै मन्त्रालयले शिक्षासँग अनुमति माग गरेको पोखरेलको भनाइ छ ।

उपत्यकामा जारी निषेधाज्ञाकै बीचमा कम्तीमा ४० हजारदेखि ५० हजारसम्मको ट्रेसिङ र परीक्षणको तयारी भएको पनि पोखरेलले बनाए । देशभर हाल १ हजार ७५ ट्रेसिङ टोलीले काम गरिरहेको पनि उनको भनाइ छ । -आजको गोरखापत्र दैनिक बाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology