हर्षाेल्लासका साथ कुवाँरवर्तीमाईको पुजा गदै थारु समुदाय

NAWALPUR TIMES

हर्षाेल्लासका साथ कुवाँरवर्तीमाईको पुजा गदै थारु समुदाय
IMG 20230405 WA0003

कावासोती (रासस) : पूर्वी नवलपरासीका थारु समुदायले हरेक वर्ष गर्ने कुवाँरवर्ती माईको पुजा मंगलबारबाट सुरु भएएको छ । महाभारत पर्वत श्रृङखलामा रहेको देवचुली पर्वतमा पुगेर त्यहाँ रहेको गुफा भित्र शिर थान माईको पूजा गरेर सुरु हुने कुवाँरवर्ती माईको पुजा जिल्ला भित्र रहेका ११ वटा देवी थानमा पुजा गरे पछि पुजा सम्पन्न हुने शिरथान कुवाँरवर्तीमाई गुठी संरक्षण समितिका अध्यक्ष विकाराम चौधरीले जानकारी दिनु भयो ।

मंगलबार देवचुलीको रजहरमा रहेका टिकेत (मुख्य पुजारी) भवानी गुरौको घरबाट यात्रा सुरु गरेर मुख्य पुजारी सहितको टोली शिरथान माईको पुजा गर्न चैते पुर्णिमाको दिन २३ गते देवचुली पर्वतको चुलीमा पुग्ने गुठीका अध्यक्ष चौधरीले जानकारी दिनु भयो । चुलीमा पुग्न भन्दा अघिल्लो दिन मुख्य पुजारी सहितको टोली देवचुलीको किर्तिपुरमा रहेको देवी थानमा बास बस्ने तथा बुधबार बिहान त्यहाँ पुजा सम्पन्न गरे पछि बुधबार बेलुका देवचुली र वरचुली पहाड बीचको रहेको खोला ईनरछतियामा बास बसेर मुख्य पुजाका लागी चैते पुर्णिमाको दिन देवचुली पहाडमा पुग्ने चौधरीले बताउनु भयो । चैते पुर्णिमाको दिन देवचुली पर्वतको चुलीमा रहेको गुफा भित्र शिरथान देवीको पुजा गरेपछि मुख्य पुजारी सहितको टोली फर्किने र जिल्लाका विभिन्न ११ वटा देवी थानमा पुजा गरे पछि पूजा सम्पन्न हुने अध्यक्ष चौधरीले बताउनु भयो । चैते पुर्णिमाको दिन देवचुली पहाडमा रहेको शिरथान माईको पुजा गरिदै गर्दा तल रहेका ११ वटा देवी थानमा पुजा गर्ने गरिन्छ । त्यस पछि चैते पुर्णिमाको भोली पल्ट देखि ९ दिन सम्म जिल्लाका विभिन्न गाउँमा रहेका कुवाँरवर्ती माईको शाखा मन्दिरहरुमा पुजा गरिने प्रचलन रहेको छ । पुजाको क्रममा देवी थानहरुमा राँगा, बोका, कुखुराको बली दिने गरिन्छ ।

हरेक वर्ष पुजा गरिने भएपनि ५÷५ वर्षमा गरिने पुजाको विशेष महत्व हुने थारु अगुवाहरु बताउछन । कन्तरी पुजाको नाम बाट प्रचलित यो पुजा पूर्वी नवलपरासीमा रहेको प्राय सबै थारु गाउँहरुमा गर्ने गरिन्छ । परापूर्वकाल देखि नै विशेष गरेर पूर्वी नवलपरासीका विभिन्न ११ वटा देवी थान रहेका गाउँहरुमा कुमारवर्ती माईको पुजा अर्थात कन्तरी पुजा गरिदै आएको थारु अगुवा कमल गुरौ बताउनु हुन्छ । शाखा मन्दिरहरुमा पूजा गर्ने अघिल्लो दिन साँझ टिकेत (मुल पुरोहित)को घरमा जम्मा भएर कुवाँरवर्ती माईको कथा सुन्ने तथा सुनाउने गरिन्छ । रोगव्याधी अन्त्य, कृिषबालीको सुरक्षा, समस्त जगतको सुख शान्ति तथा समृद्धिका लागी परापूर्वकाल देखि कुवाँरवर्ती माईको पुजा गरिदै आएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology