काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई भोट नदिनेहरूको पनि साथ लिएर पार्टी सञ्चालन गर्ने बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण समारोहमा उनले आफू पार्टीमा सबैको सभापति भएको र सबैलाई समेटेर उनीहरूको मतको कदर गर्दै पार्टीलाई अगाडि बढाउने बताएका हुन् ।
उनले आगामी निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो दल बनाउनुपर्ने चुनौती रहेको उल्लेख गर्दै ती चुनौतीलाई पनि सामना गरेर पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी निर्वाचनमा विजयी गराउने गरी पार्टीलाई अघि बढाउन सबैको साथ र सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरे ।
‘‘भोलिका दिनमा हाम्रो लागि ठूलो चुनौती पनि छ । स्थानीय निर्वाचनदेखि राष्ट्रिय निर्वाचनमा पनि पार्टीले जित्नुपर्नेछ । हाम्रो पार्टीले सबैभन्दा ठूलो पार्टी बन्नु छ । यो पार्टीले सच्चा मानेमा सम्पूर्ण नेपाललाई आत्मासात् गर्दै, सम्पूर्ण नेपालको प्रतिनिधित्व गर्दै यस पार्टीलाई भोलिका दिनमा जसरी तपाईंहरूले मलाई विश्वास गर्नु भो, म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन लाग्नेछु,’’ उनले भने, ‘‘पूर्ण रूपमा सबैको सहयोग, निष्पक्ष रुपमा सबैको सहयोग, महाधिवेशनमा भोट नहाल्नेसँग पनि मलाई मतलब छैन । म सबैको सभापति हुँ । म सबैको सभापति हुने प्रयास मात्रै होइन, त्यही गर्नेछु । मेरो जिम्मा ठूलो छ । त्यसकारण सबैलाई समावेश गरेर, सबैको सभापति बनेर, सबैको भावनाको कदर गरेर यो पार्टीलाई हाँक्न चाहन्छु । र, यसमा सबैको सहयोग हुने विश्वास लिएको छु ।’’
सभापति देउवाले पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने गरी निर्वाचन सम्पन्न गराएको भन्दै पार्टीको केन्द्रीय निर्वाचन समितिलाई धन्यवाद पनि दिए । उनले महाधिवेशनबाट निर्वाचित पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई बधाई पनि ज्ञापन गरे ।
Facebook Comment