ज्येष्ठ नागरिक प्रेरणा र गौरवका प्रतीक हुन्: प्रधानमन्त्री

NAWALPUR TIMES

ज्येष्ठ नागरिक प्रेरणा र गौरवका प्रतीक हुन्: प्रधानमन्त्री
1640142516649

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक समाजको अग्रज मात्रै नभई मार्गदर्शक व्यक्तित्व, प्रेरणाको स्रोत र गौरवको प्रतीक हुन् भन्ने वास्तविकतालाई दृष्टिगत गरी उनीहरूप्रति सम्मान गर्नुपर्ने बताएका छन्।

ज्येष्ठ नागरिक दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले जीवनको उत्तरार्धमा सम्मान गर्दै पालनपोषण र संरक्षणको उचित व्यवस्थापन गर्नु हामी सबैको कर्तव्य भएको बताएका छन्।

‘ज्येष्ठ नागरिकको मानवअधिकार संरक्षण, आर्थिक र सामाजिक सुरक्षा तथा उनीहरुका लागि सम्मानित र सुरक्षित जीवनयापन गर्नु अनुकूल वातावरणको सिर्जना गर्नुपर्ने दायित्व सरकारको मात्र नभई परिवार र समाज सबैको हो,’ उनले भनेका छन्।

उनले उपलब्ध स्रोत तथा साधनको अधिकतम सदुपयोग गरी ज्येष्ठ नागरिकलाई सुखी, सम्मानित एवं सुरक्षित तुल्याउन थप सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए।

‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ यस वर्ष विविध कार्यक्रमसहित ज्येष्ठ नागरिक दिवस मनाउन लागिएको हो।

‘दिनप्रतिदिन बढ्दै गएको ज्येष्ठ नागरिकको सङ्ख्यालाई उचित व्यवस्थापन गरी उनीहरुको जीवनयापनलाई सहज र सम्मानित बनाउने साझा दायित्व हामी सबैको हो’, सन्देशमा उनले भनेका छन्, ‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राज्यले उचित ठाउँमा सदुपयोग गर्दै त्यसलाई नयाँ पिँढीमा हस्तान्तरण एवं पुस्तान्तरण गर्नु जरुरी छ।’

प्रधानमन्त्री देउवाले परापूर्वकालदेखि चल्दै आएको ‘मातृदेवो भवः पितृदेवो भवः’ भन्ने हाम्रो संस्कारअनुसार आफूभन्दा ठूलालाई देवता समान सम्मान र आदर गर्ने व्यवहारलाई अक्षुण राख्नु हामी सबैको कर्तव्य भएको बताउँदै ज्येष्ठ नागरिक दिवसको अवसरमा समस्त ज्येष्ठ नागरिकमा शुभकामना व्यक्त गरेका छन्।

सरकारले हरेक वर्षको पुस ११ गतेलाई ज्येष्ठ नागरिक दिवसको रुपमा मनाउने निर्णय गरेको छ। ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता प्रदान गर्ने घोषणा गरेको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology