कोभिड नेपाल: बूस्टर वा पहिलो मात्रा खोप लिँदै हुनुहुन्छ? तपाईँले थाहा पाउनैपर्ने पाँच कुरा

NAWALPUR TIMES

कोभिड नेपाल: बूस्टर वा पहिलो मात्रा खोप लिँदै हुनुहुन्छ? तपाईँले थाहा पाउनैपर्ने पाँच कुरा
123289148 hb gandaki.jpg

सरकारले अहिले देशैभरि १८ वर्ष माथिका सबैलाई कोभिड विरुद्धको अतिरिक्त अर्थात् बूस्टर मात्रा खोप दिइरहेको छ।

यसै अवधिमा एउटा मात्रा पनि खोप नलगाएका व्यक्तिहरूले पनि खोप लिनसक्ने अधिकारीहरूले बताएका छन्।

अझै पनि कैयौँ व्यक्तिले पहिलो मात्रा खोप नलिएको अवस्थामा त्यसलाई थप सहज बनाउन केही नयाँ प्रावधानहरू लागु गरिएको उनीहरूको भनाइ छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागका अधिकारीहरूले अहिले चलिरहेको खोप अभियान र अन्य उमेर समूहका लागि खोप उपलब्ध गराउनेबारे विभिन्न जानकारी हामिलाइ दिएका छन्।

बूस्टर र पहिले खोप नलगाएकाले लिन सक्ने पहिलो मात्रा खोप र त्यसबारेको अभियानसम्बन्धी अधिकारीहरूले दिएका जानकारीमा आधारित तपाईँले थाहा पाउनैपर्ने पाँच कुरा:

१. नागरिकता वा परिचयपत्र नहुँदा पनि खोप पाइने

नेपालमा यसअघि खोप पाउनका लागि नागरिकता वा उमेर खुल्ने परिचयपत्र अनिवार्य गरिएको थियो।

तर कैयौँ व्यक्तिसँग त्यस्तो प्रमाण नहुँदा खोपबाट वञ्चित भएको विवरण बेलाबेला आउने गरेका थिए।

अब खोप लगाउन उमेर खुल्ने परिचयपत्र अनिवार्य नभएको अधिकारीहरूले बताएका छन्
अब खोप लगाउन उमेर खुल्ने परिचयपत्र अनिवार्य नभएको अधिकारीहरूले बताएका छन्

विशेषगरी अनौपचारिक क्षेत्रका मजदुर र कागजात नबनाएका व्यक्तिहरू खोपबाट वञ्चित भएको विवरण आएका थिए।

अब भने त्यस्ता व्यक्तिलाई खोप लगाउन प्रोत्साहित गर्न नागरिकता वा उमेर खुल्ने परिचयपत्र नखोज्ने निर्णय गरिएको अधिकारीहरूले जनाएका छन्।

स्वास्थ्य सेवा विभागले माघ अन्तिम साता ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै त्यसबारे जानकारी गराइसकेको छ।

उक्त पत्रमा भनिएको छ, “कोभिड-१९ विरुद्धको खोप लिन आउँदा उमेर खुल्ने परिचयपत्र नहुने व्यक्तिहरूको सन्दर्भमा ती व्यक्ति स्वयम् वा निजको अभिभावकले खोप लिने व्यक्तिको परिचय र उमेर स्व:घोषणा गरेकोलाई आधार बनाइ खोप प्रदान गरी खोपको सहज पहुँच स्थापित गर्ने।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी सरकारको अहिलेको प्राथमिकता खोप नलगाएका व्यक्तिहरूलाई खोप लगाउनु रहेको बताउँछन्।

त्यसैका आधारमा आवश्यक उपायहरू तय गरिएको उनको भनाइ छ।

२. आफूले लगाएको खोप नपाइए बूस्टरमा कुन लगाउने?

स्वास्थ्य मन्त्रालयले बूस्टर मात्रा खोप दिन थालेपछि आफूले पहिले लगाएको खोप नपाउँदा अर्को लगाउन मिल्छ कि मिल्दैन भन्ने जिज्ञासा धेरैको रहेको छ।

त्यस्तो प्रश्न धेरै तिरबाट आएको मन्त्रालयका अधिकारीहरू बताउँछन्।

ज्यान्सेन खोपको साटो बुस्टर मात्रामा कोभिशील्ड, मोडर्ना, आस्ट्राजेनेका वा फाइजर खोप दिन सकिने
तस्बिरको क्याप्शन,ज्यान्सेन खोपको साटो बुस्टर मात्रामा कोभिशील्ड, मोडर्ना, आस्ट्राजेनेका वा फाइजर खोप दिन सकिने

विशेषगरी नेपालमा अहिले जोनसन एन्ड जोनसनको ज्यान्सेन खोप नपाइएको हुँदा त्यसको साटो कुन खोप लगाउने भन्ने धेरैतिर अन्योल देखिएको बताइएको छ।

तर मन्त्रालयका अधिकारीहरूले त्यसलाई स्पष्ट गर्दै उक्त खोपको साटो अन्य खोप लगाउन मिल्ने बताएका छन्।

स्वास्थ्य सेवा विभागले बुधवार सबै जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्राचार गर्दै ज्यान्सेन खोपको साटो बूस्टर मात्रामा कोभिशील्ड, मोडर्ना, आस्ट्राजेनेका वा फाइजर खोप दिन सकिने जनाइसकेको छ।

३. दोस्रो मात्रा लगाएको कति समयमा बूस्टर लगाउन पाइन्छ?

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार दोस्रो मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिले बूस्टर मात्रा खोप लगाउन पाउनेछन्।

त्यस्तै कोभिड भएर निको भएको एक महिनापछि बुस्टर मात्रा लगाउन सकिने अधिकारीहरूको भनाइ छ।

अहिले निरन्तर चलिरहेको अभियानमा १८ वर्ष माथिका सबैले बूस्टर मात्रा खोप लगाउन पाइरहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल दैनिक दुई लाखको हाराहारीमा मानिसहरूले खोप लगाइरहेका छन्।

४. नेपालमा अहिले कति खोप छ र कति आउँदैछ?

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका भनाइमा अहिले नेपालमा पर्याप्त मात्रामा खोपको मौज्दात रहेको छ।

त्यसले गर्दा खोपको अभाव हुने अवस्था नआउने उनको भनाइ छ।

खोप

उनले भने, “९४ लाख खोप हामीसँग छ। करिब ४० लाख सिनोभ्याक र भेरोसेल खोप केही दिनमा चीनबाट आउँदैछ।”

“बच्चाका लागि ८४ लाख फाइजर र वयस्कका लागि ९२ लाख फाइजर खोप पनि आउँदैछ। त्यसैले गर्दा खोपको अभाव हुँदैन। त्यसमा ढुक्क हुनूस्।”

खोप आएपछि चाँडै नै १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि खोप लगाउन सुरु गरिने अधिकारीहरूको भनाइ छ।

५. हालसम्म कतिले खोप लगाए?

सरकारले चैत मसान्तसम्म १८ वर्ष माथिका करिब दुई करोड जनालाई खोप लगाइसक्ने बताउँदै आएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म लक्षित समूहका ९० प्रतिशतले पहिलो र ७५ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्।

पूर्ण मात्रा खोप लगाएका एक करोड ६७ लाखमध्ये ७ लाख ८५ हजार जनाले मात्र अतिरिक्त मात्रा खोप लगाइसकेका छन्।

खोप

तस्बिर स्रोत,RSS

बाह्र वर्षदेखि १७ वर्षसम्मका ८५ प्रतिशतले पहिलो मात्रा र ४३ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्।

नेपालले हालसम्म कुल ४ करोड ७८ लाख मात्रा खोप प्राप्त गरिसकेको छ।

त्यसमध्ये ३ करोड ५७ लाखभन्दा बढी मात्रा खपत भइसकेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology