बाह्र बुँदे घोषणापत्र जारी गर्दै नारायणी नदी सम्मेलन सम्पन्न

NAWALPUR TIMES

बाह्र बुँदे घोषणापत्र जारी गर्दै नारायणी नदी सम्मेलन सम्पन्न
331131001 1345852062903482 5479786429346279000 n2023 02 14 06 12 21

कावासोती (रासस) । पूर्वी नवलपरासीको गैँडाकोटमा दुई दिनदेखि जारी नारायणी नदी सम्मेलन १२ बुँदे गैँडाकोट घोषणापत्र जारी गर्दै मङ्गलबार सम्पन्न भएको छ ।

सम्मेलनको समापनका अवसरमा जारी गरिएको घोषणापत्रमा नदीको स्वच्छता, संरक्षण र दिगोपनाका विषय समेटिएका छन् । त्यसैगरी जलाधार क्षेत्रको संरक्षणका लागि जैविक एवं पारिस्थितिकीय प्रणालीमा आधारित क्रियाकलापमा जोड दिँदै नदीमा आश्रित जीव, समुदायको उत्थान एवं विकासमा जोड दिनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

सांस्कृतिक क्रियाकलाप गर्दा स्वच्छतामा ध्यान दिने, संरक्षणमुखी कार्यक्रम सञ्चालन गर्ने, औद्योगिक क्षेत्रको प्रदूषण नियन्त्रणसम्मका विषय वस्तु समेटेर गैँडाकोट घोषणापत्र जारी गरिएको सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले जानकारी दिनुभयो ।

दुई दिनसम्म चलेको सम्मेलनमा करिब दुई दर्जन कार्यपत्र प्रस्तुत गरिएको र सम्मेलनमा नदीको माथिल्लो तटीय क्षेत्रमा गरिएको फोहरले तल्लो तटीय क्षेत्र अझ बढी प्रभावित भएकाले नदीको सरसफाइ कायम राख्न सबै सरोकारवालाको महत्त्वपूर्ण भूमिका रहने कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

नारायणी नदीको जलाधार क्षेत्रबाट पूर्वी नवलपरासी, चितवन र मकवानपुर गरी चार लाख ६८ हजार हेक्टर क्षेत्रका करिब ११ लाख जनसङ्ख्या प्रभावित हुने भएकाले नारायणी नदीको संरक्षणमा सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने सम्मेलनका वक्ताले जोड दिएका थिए ।

डब्लुडब्लुएफ, जलाधार संरक्षण केन्द्र गण्डकी प्रदेश, गैँडाकोट नगरपालिका, त्रिभुवन विश्वविद्यालय वातावरण विभाग, लुथरनसँगको सहकार्यमा गैरसरकारी संस्था सहमतिको ‘सिमसार क्षेत्र पुनःस्थापना र नारायणी तटीय सामूहिक प्रयास तथा कार्ययोजना’ परियोजनाको आयोजनामा सुरु भएको सम्मेलनको सोमबार गण्डकी प्रदेशका कृषि ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले गर्नुभएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology