नवलपुरमा डेंगी परीक्षण किट अभाव

NAWALPUR TIMES

नवलपुरमा डेंगी परीक्षण किट अभाव
download 2

नवलपुर । देशभर डेंगीको सङ्क्रमण बढिरहँदा यहाँ पनि सङ्क्रमणको जोखिम तीव्र छ तर परीक्षण किट नहुँदा बिरामी अन्यत्र अस्पताल जानुपर्ने बाध्यता सिर्जना भएको छ।

अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार १५ दिनदेखि जिल्ला अस्पतालमा डेंगी परीक्षण किटको अभाव भएको छ। डेंगीसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी अस्पताल आए पनि परीक्षण गर्न नपाउँदा अन्य अस्पतालमा परीक्षणका लागि पठाउनुपर्ने बाध्यता भएको सुवेदीले बताए। जिल्ला अस्पतालमा साउन र भदौ गरी अहिलेसम्म नौजना मात्रै डेंगीका बिरामी फेला परेका छन्।

सूचना अधिकारी सुवेदीले भने, ‘उच्च ज्वरोका बिरामी धेरै नै आउनुभएको छ, तर परीक्षण किट अभावले डेङ्गुबाहेकको ज्वरोका अन्य कारण पहिचान र परीक्षण गरी उपचार गरेका छौं।’

सम्भावित बिरामीलाई नजिकको अस्पतालमा परीक्षणका लागि पठाएर पनि उपचार गरेको सुवेदीले बताए। डेंगी परीक्षण किट नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने गरेको छ।

पटक पटक प्रदेश सरकारसँग माग गरिएको भए पनि प्रदेश आपूर्ति व्यवस्थापन महाशाखामा पनि किट अभाव भएका कारण उपलब्ध हुन नसकेको सुवेदीले जानकारी दिए।

अहिले ओपिडीमा दैनिक २० जना डेंगीका सम्भावित बिरामी आउने गरेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा कमलराज न्यौपानेले बताए। सेतो रगतको कमी वा गम्भीर बिरामीहरुलाई मात्रै अस्पताल भर्ना गरेर उपचार गरेको भन्दै डा न्यौपानेले भने, ‘डेङ्गु किटको अभाव भए पनि अन्य अस्पतालमा परीक्षण गरेर रिपोर्टअनुसार उपचार गरेका छौँ,दैनिक दुई जना डेङ्गुका बिरामी भर्ना भएका छन।’

जिल्लाको सरकारी अस्पतालमा नै डेंगीको परीक्षण नहुँदा सेवाग्राही निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य भएका छन्। सूचना अधिकारी सुवेदीका अनुसार जिल्ला अस्पतालमा डेङ्गुको मात्रै होइन स्क्रब टाइफसको परीक्षण किटको पनि अभाव रहेको छ।रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology