चुनाव हारिएला, सोफा छोडेर चकटीमा बसौँला अब गठबन्धन गरिन्न : महामन्त्री थापा

NAWALPUR TIMES

चुनाव हारिएला, सोफा छोडेर चकटीमा बसौँला अब गठबन्धन गरिन्न : महामन्त्री थापा
gagan thapa 1

कावासोती । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि चुनावअघि सरकारका लागि गठबन्धन हुँदै नहुने बताएका छन् । नेपाली कांग्रेस नवलपुर क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।महामन्त्री थापाले यो विषय विधानमै लेखेर भए पनि व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन । कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘चुनाव हारिएला सोफामा नबसौला, बरु गुन्द्रीमा चकटीमा बसौला तर अब गठबन्धन गरिन्न ।’,

गएको स्थानीय तथा प्रदेश र संघको निर्वाचनलाई लक्षित गर्दै थापाले अगाडी भने ‘चुनावअघि गठबन्धन गर्यौँ । अब भने कांग्रेस हार्छ भने पनि चुनावअघि गठबन्धन नगरौँ । चुनाव हारे के हुन्छ ? कम्युनिष्टहरु एक भएर चुनाव लडे पनि गठबन्धन हुँदैन । ८४ मा हारिन्छ भन्छन् । हारे हारिन्छ । नेपाली कांग्रेसले वैधानिक व्यवस्था नै गर्न प्रयास गर्छ र कसैलाई चुनावभन्दा अगाडि गठबन्धन गर्न दिँदैन । गठबन्धन भनेको त सरकार मात्र भयो । पार्टी त विचार हो । निर्वाचन प्रणालीबाट जनताले छान्ने नेताहरु बदल्न सकिन्छ ।’

मिसन २०८४लाई लक्षित गर्दै थापाले अहिले काम गर्ने बेला भएकाले सरकारमा बसेकाले काम गर्नु पर्ने बताएका हुन । ‘हामी सरकारमा छौँ । हामीले अहिले त काम गर्ने हो । जताततै कांग्रेस छ । ७९ सालमा धेरै ठाउँमा कांग्रेसले जित्ने अनि जसलाई भेट्यो भन्छ ८४ त गयो । अहिले हेर्यो जता पनि मन्त्री, सांसद तर चार वर्ष नागरिकको मन जित्न नखोजेर अहिले हामीले किन ८४ सोच्ने ?’, उनले भने ।

विगतका उदाहरण दिँदै थापाले १८ महिना सरकार चलाउने बीपीको वाहीवाही, गिरिजाप्रसाद ३ वर्षमा पञ्चायतको ३० वर्षमा नभएको काम गरेको, एक वर्षमै किसुनजीले संविधान लेखेको कांग्रेसको सरकार भएको बेला सुशील कोइरालाले दुई वर्षमा जनताको संविधान जारी गरेको बताए ।

उनले कांग्रसले नै काम गर्नुपर्नेमा जोड दिँदै भने, ‘हामी प्रत्येक मान्छे जसले रुख चिन्ह लिएर जिम्मेवारी पाएका छौँ मेरो कारणले यति काम भयो भनेर ८४ मा भन्न सक्नुपर्छ ।’

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology