चार निर्णय गरेर सकियो कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक

NAWALPUR TIMES

चार निर्णय गरेर सकियो कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक
नेपालि कांग्रेस1633408846

१४औं महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठकले चार वटा निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले कांग्रेसको महाधिवेशनमा शुभेच्छा प्रकट गर्ने आउने विभिन्न राजनीतिक दलका नेताहरू, महाधिवेशन सम्पन्न गर्न पार्टीको विभिन्न तहमा रहेर काम गरेका केन्द्रीय निर्वाचन समिति, सञ्चारमाध्यामलगायतलाई धन्यवाद दिने निर्णय गरेको महामन्त्री गगन थापाले बताए ।

त्यसैगरी राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसका उम्मेदवारहरुको लागि पार्टीका सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको थापाले बताए ।

दल दर्ताका लागि निर्वाचन आयोगमा सबै विवरण बुझाउने, अध्यावधिक गर्ने कामको जिम्मेवारी पार्टीको तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय पनि कांग्रेसको केन्द्रीय समिति बैठकले गरेको छ ।

त्यसैगरी, बैठकले १४ औं महाधिवेशनको नारा उत्साह, एकता र रुपान्तरणको मर्म अनुरुप इतिहासले सुम्पेको दायित्वलाई आत्मासात गर्दै अझै सुदृढ एकता बनाएर पार्टीको अगाडिको यात्रालाई अगाडि बढाउने संकल्प गरेको महामन्त्री थापाले बताए ।

गत मंसीर २४ देखि शुरू भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनले सभापति देउवासहित १३५ जनाको केन्द्रीय समिति निर्वाचित गरेको छ । निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुले आजै निर्वाचित भएको प्रमाण पत्र वितरण गरिएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology