कावासोती । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १६ हकुई स्थित एक उद्योग परिसरमा दूर्लभ पंक्षी सारसले अण्डा काेरल्दै गरेकाे पाइएकाे छ ।
स्थानीय राज ब्रुअरी प्रा लिकाे उद्योग क्षेत्र भित्र सारसकाे गुँड देखिए सुरक्षित राख्न भनिएकाे नवलपरासी पश्चिमका सिनियर डिभिजनल वन अधिकृत राजु क्षेत्रीले बताए । अधिकृत क्षेत्रीका अनुसार उद्योग बिस्तारका लागि खाडल खन्न जाँदै गरेकाे डाेजरलाई माउ सारसले आक्रामक ढंगले ठुग्न आए पछि २ अण्डा सहितकाे सारसकाे गुँड पत्ता लागेकाे हाे ।
अण्डा काेरल्दै गरेकाे सारसलाई काेही कसैबाट हस्तक्षेप नभए करिव एक,डेढ महिनामा अण्डाबाट बच्चा निस्केर हुर्कने हुँदा गुँडलाई सुरक्षित गरी राख्न उद्योग प्रशासनलाई अनुराेध गरिएकाे क्षेत्रीकाे भनाई रहेकाे छ ।
बैज्ञानिक नाम ग्रस एन्टिगन भनिने राताे घाँटी,खैराे जिउ विश्वकै दूर्लभ चरा श्रेणीकाे उक्त सारसले जाे काेहिलाई गुँड नजिक जान नदिए पछि गुँडकाे अवस्था बारे ड्राेन क्यामरा प्रयाेग गरि जानकारी लिईएकाे थियाे ।
व्यवस्थापक पंकज भुषणले उद्योग बिस्तारका क्रममा तुरिया खाेला पट्टीकाे भागमा उक्त सारसलाई देखे पछि जिल्ला स्थित डिभिजन वनलाई पंक्षी संरक्षणका निमित्त लिखित जानकारी गराईएकाे थियाे ।
सारस नेपालका डाँफे,मुनाल,खर मजुर,सानाे खरमजुर,चिर कालिज,राजधनेस,कालाे भूडिफाेर गरूड र सेताे भुडिफाेर सहितका ९ संरक्षित पंक्षी मध्येकाे १ संकटापन्न पंक्षी हाे ।
तराई क्षेत्रमा मानव बस्ती बढ्दै जाँदा नवलपरासी पूर्व र पश्चिमका सिमसारहरू क्रमश: अतिक्रमणकाे चपेटामा परे पछि साररकाे संख्यामा पनि कमी आएकाे पंक्षीविदहरूले बताएकाछन् ।
नवलपुरकाे जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका संयाेजक एवं पंक्षी संरक्षणकर्मी डिबी चाैधरीका अनुसार विभिन्न ताल तलैया वरपर धापिलाे जमिनका हाेचा झाडीमा सारसले गुँड बनाएर अण्डा पार्ने गर्दछ ।
केही वर्ष अघि सम्म नवलपुर क्षेत्रमै पनि यसका गुँड भेटिने गरे पनि पछिल्लो समय सारसका गुँड लुम्बिनी क्षेत्र आसपास मात्र सिमित भएकाे छ । चाैधरीकाे भनाईमा चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने अमलटारी नजिक स्थानीय बाेलिचालीकाे भाषामा सारहंश भनिने सारस टाेल रहेकाे छ ।
यसै सम्बन्धमा नेपाल पंक्षीविद संघ बाग्मती प्रदेश संयाेजक बाशु बिडारीका अनुसार सारस एक अनाैठाे किसिमकाे सामाजिक पंक्षी हाे जुन सन २०१२ पछि चितवन जिल्लामा देखा परेकाे छैन ।
वर्षादकाे समयमा वंशवृद्धि कार्यमा सक्रीय रहने जाेडी सारसहरू तालतलैया छेउ ठूलै समूहमा एकत्रित भएर नाच्ने,गाउने,झुम्ने गर्दछन् ताकि भावि सन्तति बीच आपसी साैहार्दता बनाई राख्न अचम्मकाे दृश्य प्रदर्शन गर्ने बिडारीले बताए ।
Facebook Comment