देवचुली । नवलपुरकाे को देवचुली नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्षका लागि स्वीकृत वार्षिक बजेटअन्तर्गत सञ्चालित कार्यक्रम तथा योजनाको भुक्तानी कार्य सम्पन्न भएसँगै समग्र वित्तीय प्रगति सार्वजनिक गरेको हो।
नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षमा कुल ७८.०६ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ। चालुतर्फ ८०.७ प्रतिशत र पूँजीगततर्फ अर्थात विकास बजेट ७२.६६ प्रतिशत खर्च भएको जनाएको छ।
सार्वजनिक गरिएको विवरणअनुसार चालु खर्चका लागि विनियोजित ६३ करोड २६ लाख ९० हजार ५ सय ५१ रुपैयाँमध्ये ५१ करोड ३० लाख ९१ हजार ६ सय ४ रुपैयाँ १ पैसा खर्च भएको छ। यस्तै पूँजीगततर्फ विनियोजित ३१ करोड ९२ लाख ३१ हजार ९ सय ९७ रुपैयाँमध्ये २२ करोड ६१ लाख ६८ हजार २ सय ९९ रुपैयाँ ३७ पैसा खर्च भएको छ।
नगरपालिकाले वार्षिक बजेटको तर्जुमा, कार्यान्वयन तथा अनुगमनमा सहयोग पुर्याउने नगर प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, टोल विकास संस्था, उपभोक्ता समिति, निर्माण व्यवसायी, विकास साझेदार, जिल्ला स्थित सरकारी कार्यालय, सञ्चारकर्मी, नागरिक समाज तथा सम्पूर्ण नगरवासीप्रति धन्यवाद व्यक्त गरेको छ।
साथै आगामी आर्थिक वर्ष २०८३/०८४ मा पनि सबै पक्षबाट यस्तै सक्रिय सहभागिता र रचनात्मक सहयोगको अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ।
देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला र लेखा अधिकृत नारायण ढकालद्वारा हस्ताक्षरित सूचनामार्फत वित्तीय प्रगति सार्वजनिक गरिएको हो।
Facebook Comment