कावासोती । कावासोती नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार नगरपालिकाको कुल वित्तीय प्रगति ७९.९४ प्रतिशत पुगेको भए पनि विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पूँजीगत खर्च भने ६३.४७ प्रतिशतमा मात्र सीमित भएको छ।
यसले चालु वर्षमा विकास बजेटको उल्लेख्य हिस्सा खर्च हुन नसकेको देखाएको छ।नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार चालु खर्चतर्फ ८८.३२ प्रतिशत प्रगति हासिल भएको छ। तलब, भत्ता, प्रशासनिक खर्च, सेवा सञ्चालन तथा नियमित कार्यक्रमहरूमा खर्च उच्च रहेको देखिए पनि सडक, भवन, खानेपानी, पूर्वाधार तथा अन्य विकास निर्माणका योजनामा हुने पूँजीगततर्फ भने खर्च हुन सकेन
नगरपालीकाले जारी गरेकाे सूचनामा आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरिएको हो। विवरणअनुसार नगरपालिकाले कुल बजेटको करिब ८० प्रतिशत खर्च गरे पनि विकास निर्माणका लागि छुट्याइएको बजेटको झण्डै ३६.५३ प्रतिशत रकम खर्च हुन सकेन।
वित्तीय विश्लेषणका आधारमा हेर्दा पूँजीगत खर्च कम हुनु विकास योजनाको कार्यान्वयन अपेक्षाअनुसार हुन नसकेको संकेतका रूपमा लिन सकिन्छ। सामान्यतया स्थानीय तहको विकासको मापन पूँजीगत खर्चबाट हुने भएकाले यसको कम प्रगति चासोको विषय बन्ने गरेकाे छ ।
समयमै योजना सम्पन्न हुन नसक्नु, ठेक्का व्यवस्थापन प्रक्रियामा हुने ढिलाइ, निर्माण सामग्रीको आपूर्तिमा देखिने समस्या, वर्षायामका कारण निर्माण कार्य प्रभावित हुनु, जग्गा विवाद, उपभोक्ता समितिको ढिलासुस्ती तथा विभिन्न प्रशासनिक प्रक्रियाका जटिलताजस्ता कारणले नगरपालिकाको पूँजीगत खर्च अपेक्षाअनुसार हुन नसकेको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पाण्डेले बताए ।
आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गर्दै प्रमुख प्रशासकीय अधिकृत पाण्डेले चालु खर्चतर्फ उल्लेखनीय प्रगति भए पनि विकास निर्माणसँग प्रत्यक्ष सम्बन्धित पूँजीगत खर्चमा अझै सुधारको आवश्यकता रहेको बताए। उनका अनुसार विकास आयोजनाको कार्यान्वयनमा देखिने प्राविधिक, कानुनी तथा व्यवस्थापकीय चुनौतीका कारण विकास बजेट खर्च गर्ने गति प्रभावित हुने गरेको छ।
नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार आगामी दिनमा बजेट कार्यान्वयनलाई थप प्रभावकारी, पारदर्शी, उत्तरदायी तथा नतिजामुखी बनाउने प्रतिबद्धता जनाएको छ। यद्यपि प्रतिबद्धता मात्र पर्याप्त नहुने भन्दै त्यसलाई व्यवहारमा उतार्न ठोस कार्ययोजना, समयमै निर्णय, प्रभावकारी अनुगमन तथा सम्बन्धित सबै पक्षबीचको समन्वय अपरिहार्य रहेको पाण्डेले उल्लेख गरे।
उनले आगामी आर्थिक वर्षमा विकास बजेटको प्रभावकारी कार्यान्वयन, समयमै योजना सम्पन्न गर्ने क्षमता अभिवृद्धि तथा पूँजीगत खर्चको दर उल्लेखनीय रूपमा बढाउनेतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। “स्थानीय सरकारको सफलताको मुख्य आधार नागरिकले प्रत्यक्ष अनुभूति गर्ने विकास निर्माण र पूर्वाधार हो,” उनले भने, “यदि पूँजीगत खर्च बढाउन सकिएन भने वित्तीय प्रगतिको प्रतिशत राम्रो देखिए पनि त्यसको प्रत्यक्ष लाभ आम नागरिकसम्म पुग्न कठिन हुन्छ।” उनले भने । प्रमुख प्रशासकीय अधिकृत पाण्डेले योजना छनोटदेखि ठेक्का व्यवस्थापन, कार्यान्वयन र अनुगमनसम्मका सम्पूर्ण प्रक्रियालाई समयमै सम्पन्न गर्न सके मात्र विकास बजेटको प्रभावकारी उपयोग हुने धारणा व्यक्त गरे। उनले आगामी वर्षहरूमा योजना कार्यान्वयनको गति बढाउँदै गुणस्तरीय विकास निर्माणमार्फत नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने गरी काम गर्ने नगरपालिकाको लक्ष्य रहेको पनि बताए।
Facebook Comment