नवलपुर- गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेले बालबालिकाको स्वास्थ्य संरक्षण र सुरक्षित भविष्य सुनिश्चित गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।नवलपुरको कावासोतीमा आज आयोजित पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले बालबालिकाले समयमै राष्ट्रिय खोप तालिकाअनुसार सबै खोप प्राप्त गर्नु उनीहरूको मौलिक स्वास्थ्य अधिकार भएको बताए। उनले नियमित खोप कार्यक्रमले बालमृत्युदर घटाउन, विभिन्न संक्रामक रोग नियन्त्रण गर्न तथा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे।
नवलपुरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न सफल भएकोमा उनले जिल्ला समन्वय समिति, प्रदेश जनस्वास्थ्य कार्यालय, स्थानीय तह, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विकास साझेदार संस्था तथा अभिभावकलाई बधाई तथा धन्यवाद व्यक्त गरे।
पूर्णखोप घोषणा अन्तिम उपलब्धि नभई यसको दिगोपना कायम राख्नु अझ ठूलो जिम्मेवारी भएको उल्लेख गर्दै मन्त्री पाण्डेले प्रत्येक नवजात तथा लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार सबै खोप प्राप्त गर्ने सुनिश्चित गर्न सबै पक्षको निरन्तर सक्रियता आवश्यक रहेको बताए।
प्रदेश सरकारले आधारभूत स्वास्थ्य सेवा सुदृढीकरण, मातृ तथा शिशु स्वास्थ्य, पोषण सुधार, खोप सेवाको पहुँच विस्तार तथा स्वास्थ्य संस्थाको गुणस्तर अभिवृद्धिलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै उनले दुर्गम क्षेत्रसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन आवश्यक जनशक्ति, औषधि तथा पूर्वाधार व्यवस्थापनमा निरन्तर काम भइरहेको बताए।
स्वास्थ्य क्षेत्रको विकास सरकारको मात्र दायित्व नभई समुदाय, स्थानीय सरकार, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम तथा सबै सरोकारवालाको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले जनचेतना अभिवृद्धि र नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन आग्रह गरे। कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नदिन अभिभावक सचेत हुनुपर्नेमा जोड दिँदै उनले स्वस्थ, सक्षम र समृद्ध समाज निर्माणको आधार स्वस्थ बालबालिका भएको बताए। आगामी दिनमा पनि राष्ट्रिय खोप कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउन प्रदेश सरकारले आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोप प्राप्त गरेको तथा आगामी दिनमा पनि कुनै बालबालिका खोप सेवाबाट वञ्चित नहुने सुनिश्चित भएपछि जिल्लालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित घोषणा कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालयको आयोजनामा विभिन्न सरकारी निकाय, स्थानीय तह, स्वास्थ्य संस्था, विकास साझेदार तथा सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, युनिसेफ तथा विश्व स्वास्थ्य संगठनलगायतका संस्थाको प्राविधिक तथा कार्यक्रमगत सहयोग रहेको थियो।
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईंका अनुसार जिल्लाका आठवटै स्थानीय तह—गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकाले पूर्णखोप सुनिश्चितता प्रक्रियाका सबै सूचक पूरा गरेपछि जिल्लालाई घोषणा गरिएको हो।
उनका अनुसार जिल्लामा मध्यविन्दु प्रादेशिक अस्पताल, नगर अस्पताल, प्राथमिक अस्पताल, तीन आयुर्वेद अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा सामुदायिक स्वास्थ्य इकाइमार्फत नियमित खोप सेवा सञ्चालन हुँदै आएको छ। साथै जिल्ला आयुर्वेद चिकित्सालय, आयुर्वेद औषधालय तथा नागरिक आरोग्य केन्द्रमार्फत आयुर्वेद सेवा पनि उपलब्ध हुँदै आएको छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल जनसंख्या ३ लाख ७८ हजार ७९ रहेको छ। आर्थिक वर्ष २०८२/०८३ मा एक वर्षमुनिका अनुमानित बालबालिका ४ हजार ९ सय ४५, दुई वर्षमुनिका ५ हजार २३ तथा अनुमानित गर्भवती महिलाको संख्या ५ हजार ८ सय ३१ रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा दोस्रो मात्रा दादुरा–रुबेला (एमआर) खोप लगाउनुपर्ने ४ हजार ९ सय १३ बालबालिकामध्ये ८९.६२ प्रतिशतले मात्र खोप प्राप्त गरेका थिए। चालु आर्थिक वर्षमा छुट भएका बालबालिकाको घरदैलो खोजी, नियमित अनुगमन तथा अभिलेख प्रमाणीकरण गरी सबैलाई खोपको पहुँचमा ल्याइएपछि पूर्णखोप सुनिश्चितताको मापदण्ड पूरा भएको हो।
हाल जिल्लामा राष्ट्रिय खोप तालिकाअनुसार १३ प्रकारका रोगविरुद्ध निःशुल्क खोप उपलब्ध गराइँदै आएको छ। पूर्णखोप सुनिश्चितता घोषणाका लागि स्थानीय तहबाट घरधुरी सर्वेक्षण, छुट बालबालिकाको खोजी, अभिलेख प्रमाणीकरण, स्वास्थ्य संस्थाको प्रतिवेदन विश्लेषण तथा जिल्ला स्तरीय प्रमाणीकरण प्रक्रिया सम्पन्न गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले पूर्णखोप सुनिश्चितता हासिल गर्नु मात्र पर्याप्त नभई त्यसलाई दीगो रूपमा कायम राख्नु अझ महत्वपूर्ण जिम्मेवारी भएको बताए। जन्मिने प्रत्येक बालबालिकाले समयमै सबै खोप प्राप्त गर्ने वातावरण बनाउन स्थानीय तह, स्वास्थ्य संस्था, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उनीहरूको भनाइ थियो।
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईंले नियमित खोप कार्यक्रमले बालबालिकालाई क्षयरोग, पोलियो, दादुरा–रुबेला, डिप्थेरिया, लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस–बी, निमोनिया, रोटाभाइरसलगायत खोपबाट रोकथाम गर्न सकिने विभिन्न संक्रामक रोगबाट सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनले पूर्णखोप सुनिश्चितता अभियान सफल बनाउन सहयोग पुर्याउने स्वास्थ्यकर्मी, खोप कार्यकर्ता, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विकास साझेदार संस्था, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि नियमित अनुगमन, अभिलेख अद्यावधिक तथा सेवा सुदृढीकरणमार्फत पूर्णखोपको अवस्था दीगो रूपमा कायम राखिने प्रतिबद्धता व्यक्त गरे।
Facebook Comment