कावासोती । नवलपुरको बुलिङटार गाउँपालिका–२ भेलौरीस्थित कालिगण्डकी करिडोर सडक खण्डमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन्।
आज दिउँसो करिब ३ बजे पोखराबाट कालिगण्डकी करिडोर हुँदै गैँडाकोटतर्फ आउँदै गरेको ग १ ख ९५४६ नम्बरको बस ब्रेक पाइप फुटेपछि अनियन्त्रित भई सडक छेउको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ।
उक्त बसमा झापा जिल्लाको बिर्तामोडस्थित निभी आदर्श कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरू शैक्षिक भ्रमणबाट फर्कँदै थिए। बसमा करिब ३४–३५ जना विद्यार्थी सवार थिए।दुर्घटनामा परी ६ जना विद्यार्थी घाइते भएका छन्। घाइते हुनेहरूमा १८ वर्षीय उन्नति पाठक, १८ वर्षीय अनिल जैसवाल, १८ वर्षीय गगन नेचे, १७ वर्षीय साङनुमा लिम्बु,
१७ वर्षीय पवित्रा गुरुङ रहेका छन् भने एक जनाको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई तत्काल उद्धार गरी बुलिङटार अस्पतालमा प्रारम्भिक उपचारका लागि पुर्याइएको थियो। घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेकाले थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।
बस चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ निवासी ४३ वर्षीय प्रेमबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनास्थल प्रहरी चौकी बुलिङटारबाट करिब ९ किलोमिटर पूर्वतर्फ पर्दछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comment