नवलपुर ६ पाैष
नवलपुरको देवचुली नगरपालिकामा निर्माण सम्पन्न भएको नयाँ देवचुली नगर अस्पताल भवनबाट आगामी पौष १४ गतेदेखि औपचारिक रूपमा स्वास्थ्य सेवा सञ्चालन हुने भएको छ।
नगरपालिकाले पाैष १४ गते हुने उद्घाटनमा कार्यक्रमबारे जानकारी दिन आज नगरपालिकामा गरेकाे पत्रकार भेटघाट कार्यक्रमा नगरवासीलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित निर्माण गरिएको उक्त अस्पताल सञ्चालनको अन्तिम तयारी पूरा भएको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिए।
नगरपालिकाका अनुसार लामो समयदेखि स्थानीयवासीले अनुभूति गर्दै आएको स्वास्थ्य सेवाको अभावलाई मध्यनजर गर्दै नगर अस्पताल स्थापना गरिएको हो। अस्पताल सञ्चालनमा आएपछि देवचुली नगरपालिकाका नागरिक मात्र नभई आसपासका स्थानीय तहका बासिन्दाहरूले समेत आधारभूतदेखि आकस्मिक स्वास्थ्य सेवा स्थानीय स्तरमै पाउने अपेक्षा गरिएको छ।
देवचुली नगर अस्पतालमा प्रारम्भिक चरणमा ओपीडी सेवा, आकस्मिक सेवा, प्रयोगशाला सेवा, प्रसूति सेवा, दन्त सेवालगायत महत्वपूर्ण तथा आधारभूत स्वास्थ्य उपचार सेवा उपलब्ध गराइने नगरपालिकाले जनाएको छ। आवश्यकताको आधारमा क्रमशः विशेषज्ञ सेवा समेत विस्तार गर्दै लैजाने योजना रहेको नगर प्रमुख हरी न्यौपानेले बताए।
नगर प्रमुख न्यौपानेका अनुसार नगर अस्पताल सञ्चालनमा आएपछि जिल्लामै स्वास्थ्य सेवा प्रवाहमा थप सुधार आउने विश्वास लिइएको छ। “अब सामान्य उपचारदेखि आकस्मिक सेवाका लागि नागरिकले टाढा–टाढासम्म धाउनुपर्ने बाध्यता हट्नेछ,” उनले भने।

अस्पतालको उद्घाटन कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्था, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहने नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार १४ करोड १० लाख रुपैयाँको लागतमा देवचुली नगर अस्पतालको भवन निर्माण सम्पन्न गरिएको हो। आधुनिक पूर्वाधारसहित सञ्चालनमा आउन लागेको यो अस्पतालले देवचुली नगरपालिकाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा नगरपालिकाले गरेकाे छ ।
Facebook Comment