कावासोती : सिद्धार्थ आवासीय माध्यमिक विद्यालय, कावासोती–३ मा नमुना संयुक्त राष्ट्रसंघीय बैठक कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ। विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममा सहभागी विद्यार्थीहरूले विभिन्न राष्ट्रहरूको प्रतिनिधित्व गर्दै विश्व शान्ति, मानव अधिकार, बालअधिकार, शिक्षा, जलवायु परिवर्तन तथा वातावरण संरक्षण जस्ता विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए।
सहायक प्रधानाध्यापक अशोक पौडेलले यस्ता अभ्यासले विद्यार्थीहरूमा बहस वितर्क गर्ने क्षमता, नेतृत्व सीप, अन्तर्राष्ट्रिय विषय बुझ्ने दृष्टिकोण र आत्मविश्वास बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने ,’विद्यालयले विद्यार्थीहरूलाई सानै उमेरदेखि विश्वव्यापी मञ्चमा प्रस्तुत हुन सक्ने क्षमता विकासका लागि निरन्तर अवसर उपलब्ध गराउँदै आएको छ। यसले उनिहरुमा नेतृत्व विकास हुँदै जान्छ ।’
त्यसैगरी विद्यालयका संस्थापक प्रिन्सिपल भोजराज दाहालले नमुना संयुक्त राष्ट्रसंघीय बैठकजस्ता कार्यक्रमले विद्यार्थीहरूमा राष्ट्र र विश्वसम्बन्धी विषयप्रति चासो जगाउनुका साथै भविष्यमा सक्षम नेतृत्वकर्ताको रूपमा विकसित गराउने विश्वास व्यक्त गरे। उनले भने, “सिद्धार्थ विद्यालयले बच्चाहरुलाई केवल शैक्षिक ज्ञान मात्र नभई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउने काम गर्दै आएको छ।
यस किसिमका अभ्यासले उनीहरूको दीर्घकालीन विकासमा टेवा पुग्नेछ। आगामी दिनमा हामी यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउँदै, अन्य विद्यालयहरूसँग सहकार्य गरी क्षेत्रीयस्तरमा पनि नमुना संयुक्त राष्ट्रसंघीय बैठक आयोजना गर्ने प्रतिबद्धता लिएका छौं।”
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न राष्ट्रहरूको हैसियतमा आफ्ना विचार राख्दै विश्व शान्ति र विकाससम्बन्धी धारणा प्रस्तुत गरेका थिए।
छलफलमा प्रस्तुत विचार र बहसले विद्यार्थीहरूमा विश्व राजनीतिबारे बुझाइ बढाउनुका साथै सहकार्य, सहिष्णुता र समस्या समाधान गर्ने सीपलाई अझै सुदृढ बनाएको विद्यालयले जनाएको छ।
विद्यालयले यस किसिमका गतिविधिलाई निरन्तरता दिँदै विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सक्षम बनाउन प्रतिवद्ध रहेको पौडेलले बताए ।
प्रकाशित : २०८२ भदौ ६ गते २०:३४
Facebook Comment