काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र खाल्डो खनेर दुईवटा गैंडा मार्ने तस्कर समूह पक्राउ परेका छन् । निकुञ्जको सौराहा चपरचुली क्षेत्रभित्र खाल्डोको धरापमा पारी २ पोथी गैंडा मारेका थिए ।
दसैं र तिहारको मौका छोपेर तस्कर समूहले योजनाबद्धरुपमा खाल्डोको धराप थापेर गैंडा मारेका थिए । ३० कात्तिकमा सेनाको गस्ती टोलीले खाल्डोमा खाग झिकिएको अवस्था मृत गैंडा फेला पारेपछि घटना सार्वजनिक भएको थियो ।
घटनालगत्तै गैंडाको शिकारीको अनुसन्धानमा खटिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली चितवन पुगेको थियो । सोही टोली तथा चितवन निकुञ्ज, नेपाली सेनासहितको टोलीले तस्कर समूहलाई पक्राउ गर्न सफल भएको हो ।
हालसम्म सातजना नियन्त्रणमा लिएको सीआईबी उच्च स्रोतले जानकारी दिए । पक्राउ पर्नेमा मकवानपुर र रोल्पालगायतका व्यक्ति रहेको उनले जानकारी दिए । पक्राउ परेका मध्ये केही यसअघिसमेत गैंडा तस्करीमा जेल परेर छुटेकाहरु रहेको सीआईबीले जनाएको छ ।
उनीहरुको साथबाट दुईवटै गैंडाको खागसमेत फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई आज दिउसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी निकुञ्ज र सीआईबीको छ । सीआईबीको टोली चितवनमै छ । गैंडा मार्न उनीहरुले चारवटा खाल्डो खनेका थिए । १० दिनको अन्तरमा दुईवटा गैंडा मरेको अनुसन्धानबाट खुलेको छ ।
सेनाको पोस्ट भन्दा तीन किलोमिटरमै धराप
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार निकुुञ्जको सुरक्षाका लागि खटिएको सेनाको चेकपोष्ट भन्दा करिब तीन किलोमिटरको दुरीमा गैंडा मृत फेला परेका हुन् । यसअघिसमेत गतवर्ष माघमा नवलपुरको मध्यबिन्दु नगरपालिका–२ नारायणी किनारमा पनि करेन्ट लगाएर दुईवटा गैंडा मारिएका थिए ।
यसपटक खाडल खन्न लामो समयको तयारी गरेको देखिएको अनुसन्धानमा खुलेको छ ।
सीआईबी स्रोतले भन्यो, “चारवटा खाडल खन्न आवश्यक मान्छे, बन्दोबस्तीसहित तस्करले धेरै दिनको तयारी गरेको देखिन्छ । विगतमा तस्करले गोली हानेर गैंडा मार्थे । यो नौलो तरिका अपनाए ।”
सेनाको पोष्ट नजिकै खाल्डो खनेर गैंडा मार्नुलाई निकुञ्ले गम्भीर सुरक्षा कमजोरी मानेको छ । पानी खान जाने गैंडाको बाटो पत्ता लगाएर तस्कर समूहले खाल्डो खनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
दुर्लभ गैंडाको मृत्यु बर्सेनी विभिन्न कारणले हुने गरेको छ । राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार नेपालमा दुर्लभ एक सिंगे गैंडाको संख्या ७५२ छ । त्यसमध्ये करिब ६९४ गैंडाको बासस्थान चितवन राष्ट्रिय निकुञ्ज हो ।
चितवन राष्ट्रिय निकुञ्जको अभिलेखले पछिल्लो समय गैंडाको विभिन्न कारणले मृत्यु भइरहेको देखाउँछ । निकुञ्जको तथ्यांकअनुसार २०७८ मा मात्रै ३७ गैंडा मृत भेटिएका थिए । त्यसमध्ये केही तस्करी समूहले मारेको र केही आफैँ मरेको निकुञ्जले जनाएको छ ।
त्यस्तै २०७९ मा पनि विभिन्न कारणले २२ वटा गैंडाको मृत्यु भएको थियो । यो वर्ष चोरी शिकारीबाट भने एउटा गैंडाको मात्रै मृत्यु भएको देखिन्छ । गैंडा तस्करहरुको समूहले विद्युतीय तार, खाल्डोमा पारी तथा गोली हानेर गैंडाको शिकार गर्ने गरेका छन् । पछिल्लो समय गैंडाको चोरी शिकारी बढ्न थालेको देखिएको छ ।-बाह्रखरी
प्रकाशित : २०८० मंसिर १३ गते ९:४४
Facebook Comment