विश्व शौचालय दिवस : तीन अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित

NAWALPUR TIMES

विश्व शौचालय दिवस : तीन अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित
285478199 322514443391706 2623357464531282959 n1654490002

कावासोती । विश्व शौचालय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने निर्णय गरेको हो ।

मानव समुदायलाई मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन यो दिवस मनाउन सुरु गरिएको हो ।

राष्ट्र संघले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याइरहेको छ । दिगो विकासको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय रहेको छ । तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्याउने र सरसफाइ शतप्रतिशत हुने अवस्थामा पुर्याउने कार्यमा प्रगति भने सुस्तगतिमा भइरहेको छ । यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्रसंघले यस वर्षको दिवसको नारा ‘परिवर्तनको गति बढाउँदै’ भन्ने राखेको छ ।

राष्ट्रसंघका अनुसार विश्वका साढे तीन अर्ब व्यक्ति अझै पनि सुरक्षित शौचालयको सुविधाबाट वञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख व्यक्ति अझै पनि खुलास्थानमा दिसा–पिसाब गर्दछन् । खुला दिसा र पिसाबका कारण फैलने रोगले दैनिक एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ । यसले प्रकृति, महिला, युवती र अन्य संकटापन्न समूहको स्वास्थ्यमा जोखिम बढाएको छ ।

सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब सात वर्षमात्र बाँकी छ । यो लक्ष्य हासिल गर्न अहिले गरेको कामको गति पाँच गुना तीब्र बनाउनु पर्ने स्मार्ट वास सोलुसन्स नेपालका अध्यक्ष ई.रामदीप साहले बताए ।

नेपालमा सरसफाइको अवस्था

२०७६ असोज १९ गते खुला दिसामुक्त र पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा भएको हो । सरकारले सन् २०११ देखि हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न थालेको थियो । सबैभन्दा पहिला कास्की खुला दिसामुक्त घोषणा भएको थियो । झण्डै नौ वर्षको अनवरत प्रयासपछि सन् २०१९ को सेप्टेम्बर ३० मा यो उपलब्धि हासिल भएको थियो ।

आगामी चुनौती

दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बनेर नेपालले शौचालय निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको भए पनि पूर्ण सरसफाइको लक्ष्य हासिल गर्ने विषयमा अझै धेरै काम गर्न बाँकी रहेको स्मार्ट वास सोलुसन्स नेपालका अध्यक्ष साहले बताए ।

राष्ट्रसंघको खानेपानी तथा सरसफाइ हेर्ने निकाय ‘युएन वाटर’ले सार्वजनिक गरेको विवरणअनुसार नेपालको ५१ प्रतिशत जनसंख्याले मात्र सुरक्षित सरसफाइ सेवा उपयोग गर्ने गर्दछन् । आउँदा सात वर्षमा झण्डै आधा जनसंख्यालाई यस्तो सेवा पर्याउन पर्ने अवस्था छ ।

नेपालका ६४ प्रतिशत जनसंख्यामा साबुन पानीले हात धुने सुविधा प्राप्त छ । यसलाई पनि शतप्रतिशत पुर्याउनुपर्नेछ ।

घरबाट निस्कने फोहर पानीको प्रशोधन तथा सही व्यवस्थापन ३९ प्रतिशतमात्र हुन सकेको छ । बाँकी ६१ प्रतिशत फोहर पानीको प्रशोधन र सही व्यवस्थापन गर्ने चुनौती बाँकी नै रहेको अध्यक्ष ई साहले जानकारी दिए ।

यसैगरी नेपालमा शहरीकरण तीव्र गतिमा बढेको छ तर त्यही गतिमा शहरी पूर्वाधार खास गरेर ढल र नालीका पानी बग्ने संरचना तथा तिनीहरुमा बग्ने फोहर पानीको प्रशोधन र उचित व्यवस्थापनको काम हुन पनि बाँकी छ ।रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology