कविता : भोकको भकारी

NAWALPUR TIMES

कविता : भोकको भकारी
poem scaled

आदर्श सुशील

 

भोकको भकारी

यो भोकाहरुको देश रहेछ
जसलाई नअघाउने रोग लागेको छ
यिनीहरुले अन्न खाँदैनन
खान्छन त केवल
ढुङ्गा खान्छन, गिटी खान्छन्
वनको काठ खान्छन्
थाहा छैन खै केले बनेको छ
यिनीहरुको जिब्रो
के ले वनेको छ यिनीहरुको पेट
जो सजिलै पचाइदिन्छन्
ढुङ्गा,गिटी, माटो र काठ पनि!

यो भोकाहरुको देश रहेछ
जसलाई नअघाउने रोग लागेको छ
यिनीहरुले अन्न खाँदैनन्
खान्छन त केवल
वाइडबडी विमान खान्छन्
१ क्विन्टल सुन खान्छन्
सिसिटिभी पनि खान्छन्
मल पनि खान्छन्
कालो पैसा त झन्
मीठो मानेर खान्छन्

भन्न त भन्छन्
देशका लागी जनताका लागी
राजनिति गरिरहेछौं
तर कसले बुझ्दैन र ?
यिनीहरुले खानकै लागी
लाजनिति गरिरहेछन्
होइन भने
किन खान्छन् त सेक्युरिटी प्रीन्टिङ्ग प्रेस?
किन खान्छन् कोरोनाको खोप?
किन खान्छन्
सोझा नेपालीको सपनाको अस्तिपञ्जर?
धन्न रहेछ यिनहरुको पेट पनि,
जो मेसिन पनि पचाएको छ
सुई पनि पचाएको छ।

जति खाए पनि नभरिने
यिनिहरुको भोकको भकारी
कैलेकाही धेरै खाँदाखाँदा
अपच भएर पेट दुख्दा
उपचार हुँदैन यिनिहरुको
देशका अस्पतालहरुमा
किनकी हाम्रा अस्पतालहरु
अन्न खाएर पेट दुख्दा उपचार गर्छन्
विमान, रेल, मेसिन र सुइ खाएर
बिमार भएमा गर्दैनन् ।

यिनिहरु त कुम्भकर्ण भन्दा पनि ज्याद्रा रहेछन्,

कुम्भकर्ण त छ महिना खान्थ्यो
छ महिना सुत्थ्यो
यिनी त बाह्रै महिना खाइरहन्छन् ,
सुत्न त खै के गर्छन?

यी कुन ग्रहका मान्छे रहेछन् ?
जो खाँदा खाँदा मान्छे पनि खान खोजे           माकुराले आफ्नै माउ खाए जस्तै
यिनिहरु आफ्नै आमा खान खोजिरहेछन्
यिनिहरु यो देश निल्न खोजिरहेछन्

अब त अति भयो
यो देश खान खोज्नेहरुका विरुद्ध
चोक चोकमा उभिएर
अब जल्लाद बन्नु छ
र झुण्ड्याउनुछ यिनिहरुलाई
त्यहि चोकमा
देश खाएको कसुरमा।

 

(कवि विगत ९ वर्ष देखि नवलपुरमा रहेर पत्रकारिता गरिरहेका छ्न ।)

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology