नारायणघाट डण्डा चल्ने सार्वजनिक यातायातमा बेथिती नै बेथिती

NAWALPUR TIMES

नारायणघाट डण्डा चल्ने सार्वजनिक यातायातमा बेथिती नै बेथिती
public traspotation DSC 8041 2 .jpg 768x464 1

सन्जय भट्टराई / कावासोती ।
पूर्व पश्चिम राजमार्गको नारायणघाट बजार देखि नवलपुरको डण्डा बजार सम्म चल्ने सार्वजनिक यातायातमा बेथिती मौलाउदै गए पछि यो सडकखण्डमा सार्वजनिक यातायात चढेर यात्रा गर्ने यात्रुले निकै सास्ती भोग्नु परेको छ ।

नारायणघाट बजार देखि नवलपुरको डण्डा सम्म चल्ने अधिकांश सार्वजनिक बसहरुमा यात्रा गर्ने यात्रुहरुले सहचालकको बोलीचाली र उनीहरुले यात्रु सँग गर्ने व्यवहारका कारणले हेरानी भोग्दै आएको देवचुली १५ का सीता पन्थीले बताईन । महिला, बालबालिका तथा जेष्ठ नागरिक मात्रै होईन बसमा चढने हरेक जसो यात्रु सँग यातायातका सहचालक तथा कन्डकटरहरुले अपमान जनक व्यवहार गर्ने गरेको उनले बताईन । लागेको भाडा तिरेर चढदा पनि असभ्य भाषामा गाली सुन्नु परेको उनको दुखेसो थियो ।

यातायातका कर्मचारीको व्यवहार मात्रै होइन सिट संख्या भन्दा धेरै अर्थात खुट्टा टेक्न नमिल्ने गरेर यात्रु खादने, बालबालिका र पोशाकमा भएका विद्यार्थीलाई सिटमा बसेर यात्रा गर्न नदिने गरेको दैनिक रुपमा विरेन्द्र बहुमुखी क्याम्पस भरतपुर अध्ययनका लागी जाने कावासोतीका काशीराम महतोले बताए ।

बिस्तार हुदै गरेको राजमार्गमा गाडीको गति समेत कम नगरेर एकले अर्कोलाई उछिन्ने गरि चालकले गाडी कुदाउदा दुर्घटनाको उस्तै डर हुने यहि सडक भएर दिनहुँ यात्रा गर्ने दलदलेका विशाल भुसालले बताए । यो रुटमा चल्ने गाडीका चालकहरुले सुरुमा नारायणघाट बाट हिडने बेला निकै सुस्त गतिमा चलाउने तर गाडी झराही पुल कटे पछि तिब्र गतिमा चलाउने गरेको उनी बताउछन । “डण्डा आईपुग्ने बेला दलदलेबाट पश्चिम लागे पछि त लोकल बसहरुको प्रतिस्पर्धा नै हन्छ,” उनले भने ।

नारायणघाट छुटेको बस जिल्लाको गैंडाकोटमा रहेको ईलाका प्रहरी कार्यालय, रजहरको ईलाका प्रहरी कार्यालय, कावासोतीमा रहेको जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयको आँखै अगाडी बाट गुडेर डण्डा पुग्ने भए पनि प्रहरी तथा ट्राफिक प्रहरीको आँखामा भने यी यातायातका साधनमा पुगेको भने देखिदैन । अझ यो रुटका विभिन्न स्थानमा हुने ट्राफिक तथा प्रहरीको चेकिङ्गमा यस्ता यातायातका साधन रोकेर चेक जाँच नहुने गरेको गैंडाकोट थुम्सीका विकल्प सापकोटा बताउछ्न । “प्रहरी र ट्राफिक प्रहरीको आँखै अगाडि बाट सिट क्षमता भन्दा धेरै यात्रु कोचाकोच गरेर बोकेर निस्फिक्री रुपमा सडकमा दौडन्छ्न ,” उनले भने ।

जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलले भने नियमित रुपमा सडक चेक जाँच भै रहेको बताए । नियमित चेक जाँचको क्रममा असार महिनामा मात्रै बढी भाडा असुल्ने, सीट क्षमता भन्दा धेरै यात्रु चढाउने १० भन्दा धेरै लोकलबसहरुलाई जरिवाना सहित कार्वाही गरिएको पौडेल बताउछन ।

‘हामीले नियमित रुपमा चेक जाँच गर्ने तथा ट्राफिक नियमको उलंघन गर्ने यातायातका साधनलाई नियन्त्रणमै लिएर कार्वाही गर्ने गरेका छौ यो हाम्रो नियमित काम नै हो त्यो बाहेक यात्राको क्रममा यात्रुहरुलाई समस्या भएको खबर पाए तत्काल कार्वाही गर्छौ,’ पौडेलले भने । कावार्ही तथा जरिवाना बाहेक बसका चालक सहचालकहरुलाई समयम समयमा सचेतनामुलक कक्षा सन्चालन गर्ने गरेको उनको भनाई थियो ।

यात्राको क्रममा यातायातका साधनमा काम गर्ने कर्मचारीबाट गतल व्यवहार भए, बढी भाडा लिएको वा ट्राफिक नियमको उलंघन गरेको भेटिएमा तत्काल जिल्ला प्रहरी कार्यालय नवलपुर, जिल्ला जिल्ला ट्राफिक कार्यालय नवलपुरका सम्पर्क नम्बरहरुमा सम्पर्क गरेर खबर गर्न समेत पौडेलले आग्रह गरे ।

यात्राका क्रममा समस्या परेमा यात्रुहरुले १००, १०३, ९८५७०४८८९८ नम्बरहरुमा सम्पर्क गरेर आफ्नो समस्या तथा गुनासो टिपाए मा प्राप्त गुनासा र समस्याहरुको समाधानका लागी तत्काल पहल गरिने जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख पौडेलको भनाई थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology