गण्डकीमा आज मन्त्रीपरिषद बिस्तार हुदैँ

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख २९ गते ९:५५
गण्डकीमा आज मन्त्रीपरिषद बिस्तार हुदैँ

पोखरा । गण्डकी प्रदेशको मन्त्रिपरिषद्लाई विस्तार गर्ने तयारी भइरहेको छ । सरकारको बागडोर सम्हालेको दुई हप्तापछि शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

सत्तारुढ दलबीच भागबण्डा मिलेपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयहरुको कार्यक्षेत्र मिलान गरेसँगै शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको स्रोतले जनाएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन मन्त्रालयलाई  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभेको छ । आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामजिक विकास तथा स्वास्थ्य मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई भने यथावत राखिएको छ । कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई फुटाएर कृषि तथा भूमि व्यवस्था मन्त्रालय र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय बनाइएको छ ।

यसैबीच माओवादी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरु टुङ्ग्याएको छ ।  बिहीबार बसेको संसदीय दलको बैठकले रेशमबहादुर जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको हो । जुग्जाली खगराज अधिकारी नेतृत्वको सरकारमा उद्योग, पर्यटन तथा वाणिज्य मन्त्रालयको जिम्मेवारीमा थिए । बैठकले जुग्जालीलाई भौतिक पूर्वाधार मन्त्रालयमा पठाउने निर्णय गरेको हो । यसअघि बिना विभागीय मन्त्री सुशिला सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।

कांग्रेसका मन्त्रीको नाम गोप्य
कांग्रेसबाट सरकारका जानेहरुको नाम भने गोप्य राखिएको छ । यद्यपि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट सरकारमा सहभागी हुनेको नाम टुङ्ग्याएको स्रोतले जनाएको छ ।

कांग्रेसबाट यसअघि नै सरस्वती अर्याल तिवारी मन्त्री बनिसकेकी छन् । अब महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर थापालाई मन्त्री बनाउने टुङ्गो लागेको स्रोतले बतायो । कांग्रेसबाट लमजुङका डा. टकराज गुरुङ, नवलपुरका जिसी, कास्कीका विन्दुकुमार थापा, कास्कीकै प्रकाश बराल, बागलुङका जीत शेरचन, कास्कीकी सरस्वती गुरुङ, पर्वतकी रेखा गुरुङ र बागलुङका डिल्लीराम सुवेदी र थापा मन्त्री बन्ने रेसमा थिए ।

नेकपा एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे) पनि मन्त्री बन्ने लगभग निश्चित छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मनाङेलाई मन्त्री बनाउन मुख्यमन्त्री पाण्डे तयार थिएनन् । तर, केन्द्रको दबाबपछि पाण्डेले मनाङेलाई मन्त्री बनाउने तयारी गरेका हुन् ।

प्रकाशित : २०८० वैशाख २९ गते ९:५५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI