पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक साताभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन् । पदभार ग्रहण गरेकै समयमा पत्रकारको प्रश्नमा जवाफ दिँदै उनले भनेका थिए, ‘प्रदेशमा मन्त्रालय ७ बाट बढ्दैन । मन्त्रिपरिषद् ७ दिनभित्र पूर्ण हुन्छ ।’
माओवादी र एकीकृत समाजवादीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त पाण्डेलाई मन्त्रालय भागबण्डामा पार्टीभित्रै पनि सकस परेको छ ।
माओवादीले कम्तीमा ३ मन्त्रालयमा दाबी गरेको छ । यसअघि एमाले सरकारमा २ मन्त्रालय लिएर सरकारमा गएको माओवादी अहिले ३ मन्त्रालयमा अड्डी कसेको छ । ‘३ मन्त्रालय हाम्रो बटमलाइन हो । मुख्यमन्त्री आलोपालोको समझदारी भैसकेको छ,’ दलका नेता हरिबहादुर चुमान भन्छन्, ‘आधाआधा नेतृत्व गर्ने गरी हामीबीच समझदारी बनेको छ ।’ मुख्यमन्त्रीकै दाबी गरिरहेका चुमान अहिले मन्त्रीबाट बाहिर परेका छन् । पार्टीका नेताहरुको दबाबमा उनी मन्त्री बन्न नपाएका हुन् ।
माओवादीबाट यसअघि सुशीला सिंखडा मन्त्री बनिसकेकी छिन् । ‘३ वटै मन्त्री एकै पटक जाने योजना थियो । कार्यविभाजन नटुंगिएकोले अहिले बिनाविभागीयमा १ जनालाई मात्रै पठाएका हौं,’ चुमानले भने । माओवादीबाट यसअघि नै मन्त्री बनिसकेका रेशम जुग्जाली फेरि मन्त्री दोहोरिने सम्भावना छ । मुख्यमन्त्री स्रोतका अनुसार माओवादीले २ वटा मात्रै मन्त्रालय पाउने छ । ‘२२ सिट रहेको एमालेसँग गठबन्धन गर्दा त २ मन्त्रीमा चित्त बुझाएको माओवादीले अहिले कांग्रेससँग ३ मन्त्री माग्न मिल्दैन,’ स्रोत भन्छ, ‘माओवादीले २ मन्त्रालय पाउँछ । कुन कुन मन्त्रालय भन्ने अझै टुंगिएको छैन ।’
माओवादीले भौतिकसहित सामाजिक विकास मन्त्रालय खोजेको छ । कांग्रेसले सामाजिक छोड्न मानेको छैन । त्यसो त स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङले पनि सामाजिक मन्त्रालय ताकेका छन् । मुख्यमन्त्रीले भने मनाङेलाई सरकारमा लैजान चाहेका छैनन् । ‘म मन्त्री बन्ने कि नबन्ने मुख्यमन्त्रीको कुरा होइन । यो केन्द्रमै बनेको सहमति हो,’ उनले भने, ‘हाम्रो पार्टी गठबन्धनमा छ । प्रदेशमा म सांसद छु । मन्त्री स्वतः पाउँछु ।’ मनाङेलाई बाहिर राख्दा कांग्रेसको भागमा ५ मन्त्रालय रहन्छ ।
तर राजीवले मन्त्री नपाउँदा उक्त मन्त्रालयमा माओवादीको दाबी रहन सक्छ । कांग्रेसबाट मुख्यमन्त्रीसहित अर्का १ मन्त्री बनिसकेका छन् । स्याङ्जाकी सरस्वती अर्याल तिवारी बिनाविभागीय मन्त्री बनेकी हुन् । अब कांग्रेसले बढीमा ३ र कम्तीमा २ मन्त्रालय पाउँछ । कांग्रेसबाट कास्कीका बिन्दुकुमार थापा, लमजुङका डा. टकराज गुरुङ, नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका जीत शेरचन मन्त्री बन्ने प्रवल सम्भावना छ । कास्कीकै सरस्वती गुरुङ र प्रकाश बराल, पर्वतकी रेखा गुरुङ र बागलुङका डिल्लीराम सुवेदीको पनि चर्चा छ । स्रोतका अनुसार टकराज र बिन्दुमध्ये १ जना मन्त्री बन्नेछन् । जिसी शेखर समूहबाट मन्त्री बन्ने पक्का जस्तै छ । बाँकी रहेको एक मन्त्रालय धवलागिरीबाट बन्ने सम्भावना देखिन्छ । रेखा वा जीतलाई यही क्याबिनेटमा राख्न सक्ने स्रोत बताउँछ ।
पाण्डेलाई संसदीय दलको नेतामा निर्वाचित गर्ने बेलामा नै रेखालाई प्रमुख सचेतक वा मन्त्री बनाउने सहमति भएको बताइन्छ । बागलुङबाट मात्रै कांग्रेसका ६ जना सांसद रहेका कारण बागलुङबाटै मन्त्री हुनुपर्ने अडान सांसदहरुको छ । गगन थापाका प्रिय पात्र डिल्ली सुवेदी बागलुङबाट निर्वाचित भएका हुन् । उनी पनि मन्त्रीकै दौडमा देखिन्छन् । कांग्रेसले मन्त्रीसँगै संसदभित्रका पदाधिकारी पनि टुंगाउन बाँकी छ ।
Facebook Comment