टी–२० विश्वकपको पहिलो सेमिफाइनल आज : इंग्ल्यान्डले न्युजिल्यान्डको सामना गर्दै

NAWALPUR TIMES

टी–२०  विश्वकपको पहिलो सेमिफाइनल आज : इंग्ल्यान्डले न्युजिल्यान्डको सामना गर्दै
game2021 11 10 06 35 32

आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार इंग्ल्यान्डले न्युजिल्यान्डको सामना गर्दै छ । आठ सय ५० दिनअघि यी दुवै टोलीबीच लड्र्स मैदानमा एकदिवसीय विश्वकपको फाइनलमा प्रतिस्पर्धा भएको थियो । धेरै बाउन्ड्री प्रहार गरेको आधारमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई स्तब्ध पार्दै पहिलोपटक एकदिवसीय विश्वकपको उपाधि उचालेको थियो ।

फेरि एकपटक विश्वकपमा आमने–सामने हुँदा न्युजिल्यान्डले लड्र्समा व्यहोरेको नमिठो हारको बदला लिने अभियानमा छ । योपटक न्युजिल्यान्डसमक्ष राम्रो अवसर पनि छ । यो दुई वर्षको अवधिमा न्युजिल्यान्डले विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जित्यो । न्युजिल्यान्डले फाइनलमा भारतलाई हराएको थियो । इंग्ल्यान्डको दोस्रोपटक टी–२० विश्वकप ट्रफी जित्ने अभियानमा न्युजिल्यान्ड तगारोको रूपमा उभिएको छ । इंग्ल्यान्ड सुपर–१२ को समूह एको शीर्ष स्थानम रहँदै अन्तिम चारको स्थान पक्का गरेको थियो ।

न्युजिल्यान्ड समूह २ को उपविजेताका रूपमा रहँदै इंग्ल्यान्डसँगको भेट पक्का पारेको हो । समूह १ को शीर्ष स्थानमा रहँदा इंग्ल्यान्डले आठ अंक जोडेको थियो । न्युजिल्यान्ड समूह २ मा आठ अंकका साथ दोस्रो स्थानमा रह्यो । सेमिफाइनल भिडन्तमा इंग्ल्यान्डले आफ्नो मुख्य ओपनर गुमाउनेछ । जायन रोय दक्षिण अफ्रिकाविरुद्धको खेलमा चोटग्रस्त भएका थिए । जसका कारण उनले विश्वकप नै गुमाएका छन् । उनको स्थानमा इंग्ल्यान्डले ओपनिङमा जोनी बेरिटोउलाई मौका दिन सक्छ ।

सुपर १२ मा न्युजिल्यान्ड पाकिस्तानसँग मात्र पराजित भएको थियो । बाँकी चार खेलमा न्युजिल्यान्डले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चारको स्थान पक्का ग¥यो । समूह २ मा न्युजिल्यान्डले भारतलाई आठ विकेटले हराउँदै अन्तिम चारको आशा बलियो बनाएको थियो । न्युजिल्यान्डको मुख्य हतियार नै फास्ट बलरहरू हुन् । न्युजिल्यान्डका सबैजसो बलर फर्ममा रहँदा इंग्ल्यान्डलाई टाउको दुखाइ बनेको छ ।

न्युजिल्यान्डको मुख्य आशा नै ट्रेन्ट बोल्ट हो । पाकिस्तानसँगको खेलबाहेक बोल्ट अन्य चार खेलमा धारिलो बलिङ प्रदर्शन गरेका थिए । अबुधावी तथा दुबईका पिचमा उनको बलिङ सही लाइनमै देखिन्छ । अबुधावीमा हुने पहिलो सेमिफाइनलमा साँझ दोस्रो ब्याटिङ गर्ने टोलीलाई गाह्रो देखिन्छ । रात छिप्पिदै जाँदा यहाँको आउट फिल्ड सुस्त हुन्छ । यसैकारण ब्याट्सम्यान स्ट्रोक लगाउन कोसिस गर्छन् ।

अबुधाबीको सेख जायद रंगशालामा पछिल्लो तीन इनिङ्समा पहिलो ब्याटिङ गर्ने टोलीले औसतमा एक सय ८९ रन जोडेका थिए । जसमध्ये भारतले समूह २ मा अफगानिस्तानविरुद्ध २१०–२ को प्रदर्शन गरेको थियो । चालू विश्वकपमा भारतले बनाएको योगफल नै अहिलेसम्म कुनै टोलीले खडा गरेको सर्वाधिक बृहत् हो । सेख जायद रंगशाला मुख्यत ब्याटिङ पिच नै मानिएको छ । टस जित्ने टोलीले यहाँ पहिलो ब्याटिङ गर्न नै रुचाउँछ ।

कठिन समूहबाट अन्तिम चारमा पुगेको इंग्ल्यान्डले ब्याटिङ र बलिङमा एकनासको प्रदर्शन गरिरहेको छ । स्ट्रोक लगाउने पक्षमा न्युजिल्यान्डभन्दा इंग्ल्यान्डका ब्याट्सम्यान अगाडि छन् । इंग्ल्यान्डका सातौँ नम्बरका ब्याट्सम्यानले विस्फोटक ब्याटिङ गर्न सक्छन् । इंग्ल्यान्डका हकमा जोस बटलर, जोनी वेरिटाउ, इयोन मोर्गान, मोइन अली तथा लिआम लिभिग्स्टान तथा क्रिस बकर्सले आकर्षक स्ट्रोक लगाउन सक्छन् । सेमिफाइनलमा ब्याटिङको विश्लेषण गर्दा इंग्ल्यान्ड नै बलियो देखिन्छ ।

न्युजिल्यान्डको ब्याटिङ लाइन अपमा मार्टिन गुप्टिल, केन विलयम्सन, डायल मिचल, डेभोन कोन्वय तथा ग्लेन फिलिप्ससम्म ब्याटिङ गर्न सक्छन् । न्युजिल्यान्डका विलियम्सनले सेमिफाइनल रोमाञ्चक हुने बताएका छन् । ‘इंग्ल्यान्ड लयमा छ, हामीले सामान्य गल्तीले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना हुन सक्छ,’ केनले सेमिफाइनलअघि भने, ‘सबै खेलाडी फिट नै छन्, उनीहरूको चाहना नै विश्वकप हो ।’

इंग्ल्यान्डका मोर्गानले पावर प्लेमा न्युजिल्यान्डलाई रोक्ने रणनीति बनाएको बताएका छन् । ‘चालू विश्वकपको विश्लेषण गर्दा न्युजिल्यान्डले पावर प्लेमा राम्रो गरेको छ, यदि हामीले सुरुवातको ६ ओभरमा उनीहरूलाई रोक्न सक्यौँ भने खेल एकपक्षीय बनाउन सकिन्छ,’ मोर्गानले विश्लेषण गर्दै भने, ‘हाम्रा ब्याट्सम्यान र बलर फर्ममा छन् ।’ पछिल्लो तीन वर्षमा अन्तर्राष्ट्रिय टी–२० खेलमा इंग्ल्यान्ड न्युजिल्यान्डमाथि हाबी नै छ । इंग्ल्यान्डले २१ मध्ये १२ टी–२० खेलमा न्युजिल्यान्डलाई हराएको छ ।

इंग्ल्यान्डका जोस बटलरले चालू विश्वकपमा पाँच खेलमा एक सय २० को स्ट्राइकमा दुई सय ४० रन बनाएका छन् । उनले श्रीलंकाविरुद्धको खेलमा एक सय एक रनको इनिङ्स खेलेका थिए । चालू विश्वकपमा बटलरबाहेक अन्य ब्याट्सम्यानले शतकीय इनिङ्स खेलेका छैनन् । विश्वकपमा पाकिस्तानका बाबर अजामले पाँच खेलमा दुई सय ६४ रन जोडेका छन् । सर्वाधिक रन बनाउनेमा बटलर दोस्रो स्थानमा छन् बलिङमा न्युजिल्यान्ड बोल्टले ५.५८ इकोनोमी रेटमा ११ विकेट हात पारेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology