‘दशैं सकिएपछि काटौला भन्दाभन्दै खोलाले सबै लगिदियो, अब के खाएर बाँच्नु’

NAWALPUR TIMES

‘दशैं सकिएपछि काटौला भन्दाभन्दै खोलाले सबै लगिदियो, अब के खाएर बाँच्नु’
dhan duban420

झापा । गौरीगञ्ज गाउँपालिका–२ भाकुरमाडी बस्तीमा पसेको पानी र हिलो अझै सुकेको छैन । धानका कुन्यू मिलाएजस्तै लहरै माटो र ढुङ्गाले जस्तापाता च्यापेर बनाएको घरको आँगनदेखि ओछ्यानसम्मै छिपछिप्पे हिलो र पानी छ । तर, त्यहाँका बासिन्दालाई घरभन्दा पनि पाँक्न लागेको धानखेतमा खोलो कुँदेपछि अब के खाएर बाँच्ने भन्ने चिन्ता छ ।

कनकाई नदी र किस्ने खोलाको बीचमा रहेको भाकुरमाडीमा ४३ घर परिवार ताजपुरिया जातिको बसोबास छ । खोला किनारमा खेती र गाईवस्तु पालेर जीविकोपार्जन गर्ने उनीहरुलाई आज कन्काई खोलाको बाढीले विस्थापित बनाएको भन्दा पनि पाँकेको धान खोलाले बगाएपछि आत्तिएका छन् ।

प्रत्येक परिवारको १० कट्ठादेखि पाँच बिघासम्म खेती थियो । करिब १५० बिघामा लगाएको धान खेतमा कन्काई खोला बगिरहेको छ । उनीहरुले बासमती, भाले शर्ना, गरिमा जातका धानखेती गरेका थिए ।

वडा नम्बर १ स्थित रङ्गियाथान बस्तीका ६८ वर्षीय सत्यनारायण राजवंशीले कात्तिक महिनामा यत्रो ठूलो खोलामा बाढी आएको पहिलोपटक भएको बताए  । “यति ठूलो बाढी त असार साउनमा पनि आएको थाहा छैन”, उनले भने, “बेला न कुबेलाको बाढीले किसानको धान खेत सबै लग्यो अब भोकभोकै मर्ने भयौं ।”

बेमौसमी वर्षाका कारण जिल्लाका अन्य पालिकामा भन्दा बाढीले विस्थापित हुने गौरीगञ्ज गाउँपालिकामै छन् भने धानखेत पूर्ण रुपमा गुमाउने पनि यही रहेको पालिकाका अध्यक्ष बाबुराज श्रेष्ठले बताए । उनले सयौँ किसानको पाक्न लागेको धान मात्र होइन जमिनमाथि नै खोला कुँदिरहेको जानकारी दिए ।

उनका अनुसार वडा नम्बर २ भाकुरमाडीका किसानको १५० बिघा, वडा नम्बर १ स्थित धानगाढाका किसानको १०० बिघा, होक्लाबाडीको ६० विगाह, विर्खेबस्तीको ६० बिघा, रङ्गियाथानको १०० बिघा, बालुवाडी भन्सार चोकको ५० बिघा गरी करिब ५२० बिघाभन्दा बढी जमिनको धान खोलाले बगाएको बताए ।

उनले प्राकृतिक प्रकोपको कारण पालिकाले ठूलो क्षति बेहोर्नुपरेको जानकारी दिँदै भने, “यहाँ भोकमरी लाग्ने अवस्था आयो अब । स्थानीय पालिकाले मात्र सबै क्षतिपूर्ति दिलाउन सक्दैन । तीनै तहको सरकार मिलेर उनीहरुलाई क्षतिपूर्ति दिलाउनुको विकल्प छैन ।” उनले पालिकाको विपद् कोषमा रु ५० लाख रहेको जानकारी दिए तर यस्तो विपद्को भयाबह अवस्थामा यतिले मात्र नपुग्ने हुँदा तीनै तहको सरकारको दात्यिव उत्तिकै हुने उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र झापाले सोही क्षेत्रको स्थलगत अवलोकन बुधबारै गरिसकेको छ । केन्द्रका प्रमुख निलकमल सिंहले क्षतिको विवरण कृषि मन्त्रालयमा पठाएर क्षतिपूर्तिका लागि पहल गर्ने उनीहरुलाई आश्वसन दिएका छन् । उनले जिल्लाका अन्य स्थानमा पानीले धान ढाल्ने र डुबाउने गरे पनि गौरीगञ्जका केही वडामा पूर्णरुपमा धानखेतीमा खोलाले क्षति पुर्याएको बताए । रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology