ट्वान्टी–२० विश्वकप : भारत–पाकिस्तान पहिलो खेलमै भिड्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २ गते १०:२२
ट्वान्टी–२० विश्वकप : भारत–पाकिस्तान पहिलो खेलमै भिड्ने

नयाँदिल्ली — आसन्न आईसीसी ट्वान्टी–२० विश्वकपमा एकै समूहका चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान पहिलो खेलमै आमनेसामने हुने भएको छ । आईसीसीले मंगलबार विश्वकपको खेलतालिका सार्वजनिक गरेको हो ।

१६ देश सम्मिलित प्रतियोगिता अक्टोबर १७ देखि यूएई र ओमानमा आयोजना हुँदै छ । पहिलो चरणको खेलमा ८ टोलीबीच दुई समूहमा प्रतिस्पर्धा हुनेछ । समूहको शीर्ष दुई टोलीले सुपर १२ मा स्थान बनाउने छन् । जहाँ पछिल्लो वरीयताका आधारमा शीर्ष ८ टोलीसँग मुख्य प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको पहिलो खेल आयोजक ओमान र पपुवा न्युगिनीबीच हुनेछ । त्यसपछि त्यही दिन स्कटल्यान्ड र बंगलादेश भिड्नेछन् ।

सुपर १२ मा ६–६ टोलीको दुई समूह हुनेछ । समूह ‘एक’ का खेलमा अस्ट्रेलिया, साबिक विजेता वेस्ट इन्डिज, इंग्ल्यान्ड र दक्षिण अफ्रिकालगायतले खेल्नेछन् । सुपर १२ का खेल अक्टोबर २३ देखि सुरु हुनेछ ।

तर, समूह ‘दुई’ मा रहेका भारत र पाकिस्तानबीचको खेलले सबैको ध्यान आकर्षित गरेको छ । कश्मीर द्वन्द्वयता यी दुई प्रतिस्पर्धीले ट्वान्टी–२० विश्वकपमा एकपल्ट मात्र खेलेका छन् । दुई एसियाली महारथीबीच सन् २०१९ को एकदिवसीय विश्वकपमा भएको पछिल्लो भेट भारतले जितेको थियो । कुनै पनि फर्म्याटको विश्वकपमा पाकिस्तानलाई भारतले हराउन सकेको छैन ।

सन् २००९ को विजेता इंग्ल्यान्डले ३० अक्टोबरमा दुबईमा चिरप्रतिद्वन्द्वी अस्ट्रेलियासँग खेल्दैछ । यो प्रतियोगिता सन् २०२० मा अस्ट्रेलियामा हुनुपर्ने थियो । तर कोरोना महामारीका कारण भारतले आयोजना गर्न लागेको थियो ।

अप्रिल र मे महिनामा भारतमा पनि कोरोना संक्रमण दर उच्च भएपछि प्रतियोगिताको खेलस्थल यूएई र ओमानमा सारिएको हो । विश्वकपका खेलहरू चार रंगशालामा खेलाइने छ । दुबई अन्तर्राष्ट्रिय रंगशाला, अबुधाबीस्थित शेख जायेद रंगशाला, शारजहाँ रंगशाला र ओमान क्रिकेट एकेडेमी मैदानमा खेल हुनेछ । फाइनल नोभेम्बर १४ मा दुबईमा हुने तालिका छ । नोभेम्बर १५ लाई रिजर्भ डे निर्धारण गरिएको छ ।

प्रकाशित : २०७८ भदौ २ गते १०:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI