३३ वर्ष देखि गीतलाई आफनो नाम दिन दौडिरहेका सोती

NAWALPUR TIMES

३३ वर्ष देखि गीतलाई आफनो नाम दिन दौडिरहेका सोती
soti ba scaled

सन्जय भट्टराई/कावासोती

आफनो सन्तानलाई आफ्नै भन्न पनि आमालाई प्रमाण जुटाउन पर्‍यो भने आमाको मनमा के होला ? हो यस्तै बिलखबन्दमा बाँधिएका छन यति बेला कवि दिपक सोती ।

उमेरले ७३ लागेका कवि सोतीले आफ्नो ७३ औँ जन्मदिन मनाउदै गर्दा भने “मैले जन्माएको म्याँऊ  म्याँऊ बिरालोलाई यति बेला मेरै हो भनेर प्रमाण जुटाउनु पर्ने बेला आएको छ ।”

कवि दिपक सोतीको रचना रहेको नेपाली जनजिब्रोमा झुन्डिएको बाल गित “म्याँऊ  म्याँऊ बिरालो यता तिर आऊ” वि.स २०२८ मा रत्न रेर्कडिङ स्टुडियोमा भैरवबहादुरको संगित र उनकी छोरी संगीता थापाको स्वरमा गीत रेकर्ड भएको थियो । गीत रेर्कडिङको कुरा सम्झिदै सोतीले भने “ लमजुङबाट ५ दिन हिँडेर काठमाण्डौ पुगे पछि पशुपतिमा  भेटिनु भएका प्रज्ञा प्रतिष्ठानका सदस्य कवि श्यामदास वैष्णवसँग डिल्लीबजार पुगियो, चिया खादै गर्दा उहाँले मेरो म्याउँ म्याउँ बिरालो कविता हेर्नुभयो , उहाँले त्यति नै बेला यसलाई रेकर्ड गर्नुपर्छ भन्नुभयो र स्व. भैरव बहादुर थापासँग भेट गराउनु भयो, भैरव बहादुरको संगितमा उहाँकी  सानी छोरी संगीता थापाले यो गीत गाइन् । गीत रेकर्ड भएका  दिन मैले ८५ रुपैयाँ पारिश्रमिक पाएको थिएँ ।”

वि.स २०२८ सालमा उक्त गीत रत्न रेकर्डिङको ८१ नम्बरमा दर्ता भएको सोतीलाई सम्झना छ । गीत रेर्कड भए पछि सोतीले खासै वास्ता राखेनन, त्यति बेला त्यो गीत रेडियो नेपाल, भारत, चीन र श्रीलंकाको रेडियोहरुबाट पनि बजेको भने उनलाई सम्झना छ । “सुरु सुरुमा गीतको चासो त्यति राखिन तर विगत ३३ वर्ष देखि गीतको खोजी गरेको छु तर अत्तोपत्तो छैन,” सोतीले भने । “पछि त यहि गीत मेरो नाम नराखी पाठयपुस्तकमा पनि छापिएर आएछ, थाहा पाउदा दुख लाग्यो,” सोतीले भने ।

गीत पाठयपुस्तकमा बिना नाम छापिएर आए पछि कवि सोतीले तात्कालिन शिक्षा सहायक मन्त्री क्षेत्रप्रताप अधिकारीलाई भेटेर पाठयपुस्तकमा आफ्नो नाम राखिदिन आग्रह गरेको  बताए । “शिक्षा सहायक मन्त्रीलाई पनि भेटेर आग्रह गरे तर आन्दोलनको समय थियो त्यो पनि त्यतिकै भयो,” सोतीले भने । पछि आफ्नो नाम नराखी पाठयपुस्तकमा छापेको एकता प्रकाशन पुगेर आफुले झगडा समेत गरेको सोती सम्झन्छन । एकता प्रकाशनमा पुगेर झगडा गरे पछि नाम राखिदिने आश्वासन पाएका सोतीलाई त्यो बेला पारिश्रमिक स्वरुप  दुई हजार प्रकाशनले दिएको उनि बताउछन । “नाम त हालेनन हालेनन झन सम्पादन गर्दा गीत नै बिगारी दिएछन,” सोतीले दुखेसो पोखे । अहिले त झन युटयुवमा त गीत नै बिगारेर आएको देख्दा सोतीले दुखेसो पोख्दै भने “हेर्न त धेरैले हेरेका रहेछन, तर मेरो नामनै छैन, त्यहि माथि गीत पनि बिगारेका रहेछन ।”

आफु सँग भएको गीतको क्यासेट पोखरामा डेरा सर्ने क्रममा फुटे पछि  गीतको खोजीमा ३३ वर्ष देखि रेडियो नेपाल र नेपाल टेलिभिजन धाईरहेको सोती बताउछन ।

 

रेडियो नेपालका उपनिर्देशक समेत रहेका साहित्यकार नवराज लम्सालले पनि त्यो गीत कवि सोतीकै भएको बताए । “२०७२ को महाभुकम्पको बेला धेरै पुराना क्यासेटहरु फुटे, सायद सोतीजीको पनि त्यहि बेला फुटेको हुनुपर्छ, हामाीले सबै पुराना क्यासेटहरुलाई रिकभर गर्दै छौं, भेटन साथ उहाँको सम्पति उहाँलाई हस्तानतरण गर्छाै,” लम्सालले भने ।

कवि सोतीले आफुले व्यक्तिगत रुपमा भेटेर दिपक जंगम, ललिजन रावल, नवराज लम्साल लगाएतकालाई गीत खोज्न आग्रह समेत गरेको बताए ।

उमेरले ७३ लागेका सोतीलाई भने उक्त गीतको प्रतिलिपी अधिकार आफ्नो नाममा गराउन मन छ । “उमेरले बुढो भए पनि हिम्मत हारेको छैन, एक पटक फेरी काठमार्डौ जान्छु, आफ्नो सन्तानको माया कस्लाई पो हुन्न र,” सोतीले भने ।

 

 

कवि सोतीको त्यो गीत

 

म्याउँ म्याउँ बिरालो यतातिर आउ

मेरो नाना काटी गर्ने मुसा मारी खाउ

कराईको  दूध   खाइदेउ भने

म त भोकै हुन्छु, नखाइदेउ भन्छु

बाबा भन्छिन् खाली बुबु चोर्न जाली

आमा भन्छिन् चोर्ली भाडाहरु फोर्ली

बुबु चोर्यो भने लट्ठीले म हान्छु

नआइज न यता चोर्नै म्याउ भन्छु

 

वि.स  २००६ सालमा लम्जुङको कुन्छामा जन्मिएका सोतीको अहिले स्थाई रुपमा पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं १२ मा बसोबास गर्छन । वि.स २०२१ मा नरोक मलाई कविता  लेखेर दोस्रो स्थान हासिल गरेका सोती अनवरत रुपमा नेपाली साहित्य सिर्जनामा लागेका छन । २०२८ सालमा लमजुङको कुन्छा साहित्य  परिषद्को अध्यक्षदेखि , २०३८ मा मकवानपुर साहित्य परिषद् हटौंडाको संस्थापक उपाध्यक्ष,  २०४६ सालमा युवा साहित्य सदन पोखराको संस्थापक सचिव समेत भएका कवि सोतीको  ‘मेरी  मर्स्याङ्दी’ कविता संग्रह(२०२८),  ‘दुई बत्ती निभेर’ कविता संग्रह(२०३०), ‘जगदम्बा’  काव्य(२०४५), ‘समालोचक’ शोक काव्य (२०४१) , ‘मेरी आमा रुँदी हुन  कविता संग्रह(२०६७) फुल्न नसकेका फुलहरु (२०७८) र थुप्रै फुटकर कविताहरु प्रकाशित भएका छन् ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology