कोभिड-१९ संक्रमितका लागि भनिएका यी औषधि चिकित्सकको परामर्शबिना सेवन नगर्नुस्

NAWALPUR TIMES

कोभिड-१९ संक्रमितका लागि भनिएका यी औषधि चिकित्सकको परामर्शबिना सेवन नगर्नुस्
1620201358265

काठमाडौँ — कोभिडको दोस्रो लहर नेपालमा फैलिएसँगै यस सम्बन्धी मिथ्या सूचनाहरु सामाजिक सञ्जाल मार्फत फेरि फैलिन थालेका छन् । केही दिन यता विभिन्न औषधिका नाम र तिनका तस्बिर ह्वाट्सएप ग्रुप, म्यासेन्जर र फेसबुक मार्फत शेयर गरिएका छन् ।

‘कोभिड ट्याब्लेट’ भन्दै शेयर गरिएको उक्त सूचीमा औषधिहरुको नामका साथै तिनलाई सेवन गर्दा लिने मात्रा पनि उल्लेख गरिएको छ

काठमाडौँको मनमैजुस्थित संयुक्त फार्मेसीका सञ्चालक रमेश लामिछानेका अनुसार त्यस्तो सूची लिएर औषधि खरिद गर्न मानिसहरु उनको पसलमा आउने गरेका छन् । ‘३-४ दिनमा करिब ६-७ जना व्यक्ति एकै किसिमको औषधिको सूची लिएर आए ।पहिले त मैले कुनै डाक्टरले नै सिफारिस गरेको औषधि होला भन्ने सोचेँ तर पछि मेरै एक आफन्तले मलाई फोटो पठाई यो औषधि फेसबुकमा देखेको सही हो कि हैन भनेपछि पो थाहा पाएँ,’ लामिछानेले भने । लामिछानेले त्यसपछि त्यस्तो सूची लिएर आउनेलाई औषधि नदिएको साउथ एसिया चेकलाई बताए ।

उक्त सूचीमा ७ किसिमका औषधिहरु छन् ।

ती औषधिको नाम र तिनको प्रयोग यस प्रकार छन्:

यी औषधिमध्ये जिङ्कोभिट, लिम्सी र सेलकाल भिटामिन र पोषणपूरक औषधिहरु हुन् । डोक्सी र एजीथ्रल एन्टिबायोटिक (औषधि जसले शरीरमा रहेका हानिकारक ब्याक्टेरियाहरूलाई नष्ट गर्दछ वा तिनीहरूको विकास सीमित गर्दछ) हुन् भने डोलो ज्वरोको र इभरमेक्टीन जुकाको औषधि हो ।

भिटामिन र पोषणदायक औषधिहरु कोभिड-१९ का बिरामीका लागि उपयोगी हुनसक्ने भएतापनि त्यसको पुष्टि हुन सकेको छैन । त्यसैले यी औषधि चिकित्सकको सल्लाह र सुझाव अनुसार प्रयोग गर्नु उपयुक्त हुने हार्वर्ड मेडिकल स्कुलले प्रकाशित गरेको एक लेखमा जनाइएको छ । यसैगरी साइन्सन्युजमा प्रकाशित एक लेखमा भिटामिन सी, डट्ठ र जिङ्कको कमी भएका कोभिड संक्रमितलाई मात्र यी दबाइले सहयोग गर्ने उल्लेख गरिएको छ । पूरक औषधि साधारणतया सुरक्षित भएतापनि इन्फेक्सनबाट बच्न चिकित्सकको सल्लाह अनुरुप प्रयोग गर्नु पर्ने उल्लेख गरिएको छ ।

यसैगरी उक्त सूचीमा दुई वटा एन्टिबायोटिक पनि छन् । अमेरिकी स्वास्थ्य सम्बन्धी वेबसाइट हेल्थलाइनका अनुसार एन्टिबायोटिक गलत तरिकाले प्रयोग गरेमा फाइदा भन्दा हानि बढी गर्दछ । एन्टिबायोटिकले ब्याक्टेरियालाई उपचारको लागि प्रतिरोधात्मक बनाउन सक्छ भने यसले प्रतिरक्षा कोशिकालाई क्षति पुर्‍याउँछ र हाम्रो शरीरका सेतो रक्त कोशहरूको क्षमतामा ह्रास ल्याउन सक्छ । यसैगरी अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का अनुसार जरुरी नभई एन्टिबायोटिक प्रयोग गर्नाले हानि गर्दछ । अनियन्त्रित एन्टिबायोटिकले झन् बढी बिरामी बनाउन सक्ने वा अन्य असर गर्न सक्ने सीडीसीले उल्लेख गरेको छ । यसै कारण सीडीसीले चिकित्सकको सल्लाहअनुसार मात्र एन्टिबायोटिक प्रयोग गर्न र अरुलाई सिफारिस गरिएको एन्टिबायोटिक प्रयोग नगर्न सुझाएको छ ।

डा. कल्याण सुवेदीको फेसबुक पोस्टको स्क्रिनसट

‘यी औषधिहरु डाक्टरको सल्लाहबिना आफै सेवन गर्दा धेरै नराम्रो असर गर्नसक्छ,’ काठमाडौँस्थित शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टर अरुण उप्रेतीले साउथ एसिया चेकलाई बताए, ‘यसरी जथाभावी औषधि सेवन गर्दा ती दबाइ चाहिने बिरामीलाई मार पर्ने र बजारमा सर्टेज हुनसक्छ ।’ डा. उप्रेतीका अनुसार अस्पतालमा चिकित्सकको निगरानीमा कोभिड-१९ संक्रमितलाई यस्ता केही औषधि चलाउनु स्वभाविक भएता पनि बिना रामर्श सेवन गर्नु उचित हुँदैन ।

त्यस्तै डा. कल्याण सुवेदीले आफ्नो फेसबुक पेजमा पोस्ट गर्दै डाक्टरले ‘प्रिस्क्राइब’ गरेको बाहेक अन्य औषधि नखान सुझाएका छन् । उनले भनेका छन्, ‘त्यो औषधिको लिस्टको पछि नलाग्नु होला । ज्वरो आउँदा जुनसुकै ज्वरो घटाउने औषधि र खोकी लाग्दा खोकी कम गर्ने औषधि भन्दा अरु केही खानु पर्दैन ।’

यसरी चिकित्सकको परामर्श बिना कुनै पनि औषधि लिनु अनुपयुक्त वा हानिकारक हुने भएकाले कोभिड-१९ को औषधि भन्दै सामाजिक सञ्जालमा फैलिएको सूची भ्रामक भएको ठहर हुन्छ ।

-यो सामग्री साउथ एसिया चेक डट ओ आरजी बाट लिइएको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology