विनोद राना मगर
प्रेममा हामी संगै हुँदा एकदिन मन्दिर गई चढाएका थियौं एक थुगाँ फूलका नमुना जोडी, पत्तै नदिई तिमीलाई मन मनै सुटुक्कै मागेको थिएँं दुई अञ्जुली थापी । थिएन नी मेरो संसार त्यसैंले त दुई बगरका छेऊमा लुकेर रोपथ्यौं प्रेमरुपी विरुवा । रोप्नु अघिका सहमती सहकार्यका कुनै पनि आधिकारिक प्रणयका लिखत दस्तावेज त छैनन, न तिमीसंग न मसँग ।
तर आजभोली अलिकति तिमीले र अलि धेरैं मैंले विश्वासमा प्रणयका दियो ननिभ्ने गरी बालेका छौं । प्रणयका डोरी अनन्तका लागि नचुड्ने गरी अनवरत बाटेका छौं । प्रणयका प्यारा बिम्बहरु तिम्रो आगमन पछि नै सजिएका हुन् । अलिकति “म” मा अलि धेरैं तिमीमा विश्वासको दिप जलाई दुवैले हेरचाह गर्ने गरी एउटा प्रेमको सुन्दर कथा स्वप्न सजाएका छौ । सायद यसै भएर होला प्रायःअलिकति तिमीले र अलि धेरैं मैंले आजभोली गरिरहेछौं मात्रै स्वप्नका कुरा ।
हामीबीच प्रतिस्पर्धा चलेको छ, हो यस्तै यस्तै होडबाजीमा एकले अर्कालाई हराउन खोजेका छौं । तर दुवैले जित्ने गरि पनि त प्रतिष्पर्धा गर्न सकिएला नि हैन ? अलि धेरैं म कि अलिकति थोरै उनी । थाहा छैन हामीलाई तर आजभोली घाम पानीसँग –सँगै गोड्न लागेका छौं प्रेमका मुनाहरु । प्रकृतिलाई स्वीकार छ हाम्रो प्रेम,चञ्चल छ पानी, पवन मन्दमस्त छ , वर्षा उन्माद छ , वातावरण अनुकूल छ , भूमि उर्वर मौसम तयार छ गर्भ बस्न तयार छ पल्लव र पूष्पनका लागि प्रेमरुपी मुना !!!!
यहीँ पृष्ठभूमिमा हामी दुवैले प्रेमपूर्वक रोपेंको प्रेमको फूल जून मैंले गोडेको अनि तिमीले स्नेहले अलिकति बढी प्रमकै प्राङ्गारिक मलले मलजल गरेको । बिचरा ती मायाका चरीहरुलाई समेत तिमीले हाम्रा मुनालाई नोक्सान गर्ला भनी खेदेको । गाँउका बासुदेवका बाँस चोरी तगारो लगाएको, खडेरी र वर्षातले पिरोल्ला भनी भगवान सँग भाकल गरेको । प्रिय स्वप्नका मुनारुपी विरुवा आज बिहानै मिरमिरेमा मेरो सपनामा आयो र सोध्यो । “तिमी जाग्ने होइन ? तिमी उठ् जानु छ होइन प्रिय तिम्रा बगैंचामा जहाँ नवोदित प्रेमपुस्पन भएको हेर्न ? यति कर्म किन गर्छौ ? यति धेरैं सर्मपण अनि निस्वार्थता केका लागि भन त ?
यतिका तिम्रा प्रेम यति ठूलो विश्वास यति मीठा स्वप्नहरु आखिर किन ? म जन्मिएन भनी अनि म जन्मिनु पहिला तिमी बाँचेनौं भने के गर्छौ ? यतिका रहरसँगैका मिठा स्वप्नहरु आखिर कसको आँखामा राखेर जान्छौं ? कसको लागि जन्माएर जान्छौं ? आखिर यतिका रहरहरुसँगै के गरी मर्छौ ? त्यो दिन,उनी यो शहर र तिमी यो दुनिया छाडेर गए ? जीवनको शश्वत सत्य मृत्यु रहेछ अनि मिलनको बिछोड हुने बेला के गर्छौ ? भन, तिमी जाने बेला, बिछोडको बेला, मलाई गर्व मैं तुहाउनु भएको बेला के गर्छौ ? यदि मेरो आगमनले म एकैक्षण भए पनि प्रेमको न्यानो स्पर्श, कोमल अञ्जुलीमा, निलगंगा नयनमा, हृदयको स्पन्दनमा, दिनको उज्यालोमा रातको अँध्यारोमा, जीवनको उकाली ओराली यात्रामा थाकेको बेला सँगै–सँगैं वरपिपल चौतारीमा के साथ साथै हुन्छौं ? कि कुनै बाधा बन्धन,बाचा कसम, स्वार्थ अर्थ, स्वार्थी समाज शर्त कानुन देखाई भुल्छौ नवोदित पल्लवित प्रेम मुनालाई ?
भो म सक्दिन सहन ,भो म सक्दिन टुहुरो भई तिमीहरु दुई मायाका चरीलाई बिदा गर्न ? म बुभ्न सक्छु सक्दैनौं तिमी जाने बेला हात समाएर बिन्ती छ नजाउ भन्न ? के साच्चै तिमी रोकिन्छौ त जाने बेला सम्झेर हाम्रो “कथा” लाई , अनि के जुनी जुनीसँगै हुन्छौ त जीवनका आरोह–अवरोहमा ? स्वीकार छौं त चुनौतीहरुलाई सँग–सँगै हास्ने र रुने संकल्प गर्छौ ? लौ भन मैंले गर्भ बोकेको छु, फुल्न आँटेको छु ,प्रेमको आशाले जन्मिदै छु प्रेमको कथा लिएर मात्रै “कथा” ।
म झसङ्ग बिँउझन्छु र संकल्प गर्छु आज प्रणय दिवस रहेछ । मेरो सपनामा आईरहने उनिलाई सुटुक्कै शुभकामना दिन्छु । उनिलाई शब्दबाटै प्रेमोपहार ।
(लेखक कावासोती-१३ का वडा अध्यक्ष हुन)
प्रकाशित : २०७७ फागुन २ गते १३:४२
Facebook Comment